भारतको कर्नाटकमा विश्वकै खर्चिलो विवाह, डेढ अर्बका गरगहना, २७ करोडको साडी, आठ अर्ब रुपियाँ खर्च गरिँदै

 
कर्नाटक । भारतको कर्नाटका राज्यमा विश्वकै एउटा सबैभन्दा खर्चिलो वैवाहिक समारोह भइरहको छ । त्यहाँका पूर्व प्रान्तीय मन्त्री तथा एक जना विवादित खानी व्यवसायी जनार्दन रेड्डीले आफ्नी छोरी ब्रह्माणीको विवाहमा आठ अर्ब रुपियाँ खर्च गर्न लागेको बीबीसीले जनाएको छ ।
पाँच दिन चल्ने उक्त विवाहमा दशौँ हजार पाहुना निम्त्याइएको छ भने बलिउड कलाकारहरुले आफ्नो प्रस्तुती दिएका छन् ।
दशौँ लाख भारतीय सर्वसाधारण पाँच सय र एक हजार रुपियाँका नोटमा लागेको प्रतिबन्धका कारण छटपटिरहेको असहज परिस्थितिमा उक्त विवाहको खबर प्रकाशमा आएको हो।
विवाहका लागि सुन र एलसीडी स्क्रिन जडित निम्ता कार्डका लागि डेढ करोड रुपियाँ भन्दा बढी खर्च गरिएको छ।
त्यस्तै बेहुलीको साडीका लागि २७ करोड रुपियाँ भन्दा बढी र गरगहनाका लागि झण्डै डेढ अर्ब रुपियाँ खर्च गरिएको छ।
भारतीय संचारमाध्यमका अनुसार विवाहस्थलमा तीनहजार निजी सुरक्षाकर्मी र तीन सय प्रहरीका साथै तालिमप्राप्त कुकुर र बम निस्क्रिय बनाउने सुरक्षा दस्ता पनि तैनाथ गरिएको छ।
विवाहस्थलमा प्राचीन दरवार र मन्दिरको नक्कल गरी त्यस संरचनासँग मिल्नेगरी मण्डव बनाइने छ ।
भारतीय जनता पार्टीका पूर्व नेता रेड्डीमाथि भ्रष्टाचारको आरोप लागेको छ र उहाँले तीन वर्ष जेलमा बिताइ गत वर्ष जमानतमा रिहा हुनुभएको थियो ।