संविधान संशोधनको हल्ला संविधान कार्यान्वयन हुन नदिने प्रायोेजित षडयन्त्रः ओली

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि व्यवधान के हो भनेर भन्न नसक्नु तर निरन्तर संविधान संशोधनका मात्र कुरा गर्नु प्रायोेजित षडयन्त्र भएको आरोप लगाउनु भएको छ । भैरहवा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले यस्तो आरोप लगाउनु भएको हो । उहाँले संविधान कार्यान्वयनको बेला कार्यान्वयनको होइन संशोधनको कुरा गर्नु उचित नभएको पनि तर्क गर्नुभयो । उहाँले संविधान कार्यान्वयनको कुरा नगर्नु, संशोधनको विषयलाई उचाल्नु, संविधान कार्यान्वयन गर्ने हो भने संशोधन चाहियो भन्नु, संशोधन नभइ कार्यान्वयन हुनै सक्दैन भन्नु संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र भएको पनि आरोप लगाउनुभयो ।
‘म प्रदेश नम्बर–५ का जनता र जनप्रतिनिधिसँग सोध्न पनि आएको हुँ,’ उहाँले भन्नुभयो, ‘पाँच नम्बर प्रदेश तराई र पहाडसँग मिसिएको छ भनेर छुट्याउँनै पर्छ भन्ने कतिपयको जबरजस्त माग छ, मेरो पहिलो प्रश्न यसलाई अलग गर्ने पर्ने कारण के–छ ?’
ओलीले प्रदेश नम्बर–५ छुट्याउनै पर्ने माग किन ? भनी प्रश्न समेत गर्नुभयो । ‘मेरो तेस्रो प्रश्न प्रदेश नम्बर–५ लाई हेरफेर गर्दा के फाइदा छ,’ उहाँले भन्नुभयो, ‘प्रदेश नम्बर–५ को पहाड र तराई अलग नगर्दा यहाँका जनताले पाउने सहुलिय, उपभोग गर्न पाउने अधिकार, प्राप्त गर्ने सुरक्षा, यहाँका जनताको एकताको भावना र सामाजिक सद्भाव, विकासका संभावना हो ?’
ओलीले प्रदेश–५ का जनताको इच्छा अलग हुने होइन भने अरुमा मात्र इच्छाले केही नहुने पनि उनले दाबी गर्नुभयो । ‘म भन्न चाहन्छ, एमाले संविधान संशोधनको विपक्षमा छ भन्ने भ्रम छर्न खोजिएको छ,’ उहाँले भन्नुभयो, ‘एमाले विपक्षमै रहेका कारण संविधान कार्यान्वय हुन सकेन भन्ने हल्ला गरिएको छ । त्यो होइन एमालेले त्यसो विल्कुल गरेको छैन ।’