संविधान संशोधनको एजेण्डा राष्ट्रघाती हो भन्नेहरु नै राष्ट्रघाती : राजेन्द्र श्रेष्ठ

ललितपुर । सङ्घीय समाजवादी फोरम, नेपाल ललितपुर जिल्लाको कृष्णभक्त डंगोलको अध्यक्षतामा पुनर्गठन भएको छ । पार्टी सचिव सुरेन्द्र महर्जनले सञ्चालन गरेको उक्त कार्यक्रममा ललितपुर जिल्ला इन्चार्ज न्हुच्छेलाल महर्जनले ३१ सदस्यीय जिल्ला तदर्थ समितिको घोषणा गर्दै ललितपुरमा पार्टी सङ्गठन बलियो बनाउन जिल्ला पुनर्गठन गर्नु परेको बताउनुभयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पुरानो विचार बोकेर नयाँ राजनीतिक शक्ति निर्माण हुँदैन भन्दै त्यसका लागि विचार, सङ्गठन, सङ्घर्ष र कार्य पद्धति हरेक क्षेत्रमा आफ्नो अलग विकल्प हुनु पर्ने कुरा बताउनुभयो । अहिलेको राज्य पुनर्संरचनामा विवादको चुरो विषय सङ्घीयतालाई संरचनाको रूपमा मात्र हेर्ने कि सिद्धान्त वा वादको रूपमा हेर्ने भन्ने रहेको कुरा पनि उहाँले स्पष्ट पार्दै नेपाली काङ्ग्रेस र कम्युनिष्ट पार्टीहरूले अगाडी सारेको लोकतान्त्रिक समाजवाद र वहुदलीय वा नयाँ जनवाद नेपालका लागि उपयुक्त नभएकाले त्यसको बिकल्पको रूपमा ससफो, नेपालले सङ्घवाद र समाजवाद दुई मुख्य सिद्धान्तलाई एकाकार गरी सङ्घीय समाजवाद अगाडी सारेको कुरा बताउनुका साथै वास्तविक नयाँ शक्ति सङघीय समाजवादी फोरम, नेपाल नै भएको दावी गर्नुभयो ।
अहिलेको संविधान संशोधन सम्बन्धी विवादका सम्बन्धमा एमाले नेता केपी शर्मा ओलीले संविधान कार्यान्वयन नगरी संविधान संशोधनको विदेशी एजेण्डा बोक्नु राष्ट्रघाती काम हो भनेको प्रति आक्रोश पोख्दै उहाँले भन्नुभयो, यदि यो कुरा सत्य हो भने केपी ओली स्वयम् प्रधानमन्त्री भएको बेला संविधान संशोधनको तथाकथित विदेशी एजेण्डा बोक्ने र संविधान कार्यान्वयन गर्न नसकी एकतर्फी रूपमा संविधानको पहिलो संशोधन गर्ने केपी शर्मा ओली नै पहिलो राष्ट्रघाती हुन् । हामीले विदेशीलाई रिझाउन होइन, नेपालका उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि संविधान संशोधन हुनुपर्ने माग गरेका हौ ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा नेवाः प्रदेश इञ्चार्ज कृष्ण वहादुर घःजु तथा केन्द्रीय सदस्य पुस्पराज राजकर्णिकारले ललितपरको पार्टी कामलाई व्यवस्थित गर्न र पहिचानको मुद्दालाई स्थापित गर्न समितिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने कुरा बताउनुभयो । पार्टी उपाध्यक्ष रामवहादुर स्याङ्ताङले स्वागत गरेको उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य लिला सिटौला, ताम्सालिङ प्रदेश समितिका उपाध्यक्ष आशमान तामाङ, नेवाः प्रदेश समितिका सचिव चन्द्र महर्जन लगायतका नेताहरूको पनि उपस्थिति थियो ।