‘बहुलाकाजीको सपना’ नाटकको अभिनयात्मक प्रस्तुति

काठमाडौँ । नाटककार विजय मल्लले लेख्नुभएको ‘बहुलाकाजीको सपना’ नामक नाटक सुनधारास्थित नाटकघर थिएटर मलमा मञ्चन भइरहेको छ ।

हरेक दिन ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने निम्नवर्गीय परिवारले आफ्ना सन्तानमार्फत देखेका सपना नाटकमा प्रस्तुत गरिएको छ । यही मङ्सिर १ गतेदेखि १५ गतेसम्म जारीरहने उक्त नाटकमा सामाजिक यथार्थलाई समावेश गरिएको छ ।
समाजका कुरीति तथा बेथितीलाई नाश गरेर राम्रो तथा सभ्य समाजको परिकल्पना गरिएको बहुलाकाजीमा भक्ते र मानेजस्ता भरियालाई प्रेरित गरेको सन्देश नाटकमा पाइन्छ ।
बालक वीरेको आँखामा रहेको चमकबाट प्रभावित हुँदै उनीमार्फत बहुलाकाजीले समाज परिवर्तनको सपना बुन्छ, तर आर्थिक दलदलमा फसेको परिवारमा वीरेको अभावका कारण उपचार नपाई मृत्यु हुनु यस नाटकको दुखान्त पक्ष छ ।

कलाकार शङ्कर भण्डारीले निर्देशन गरेको नाटकमा राजेन्द्र भट्ट, अर्जुन पौडेल, गणेश पौडेल, मदन पराजुली, राजिव धमला, शिव परियार, अर्मान श्रेष्ठ, समीर राई, जस्वन थापा मगर, उमेश कार्की, शालिक भट्ट, रविन खड्काले अभिनय गर्नुभएको छ ।

नाटकमा कक्षा ११÷१२ को पाठ्यक्रममा समावेश नाटक ‘बहुलाकाजीको सपना’ का संवाद तथा दृश्यलाई अभिनयात्मक प्रस्तुति दिइएको छ ।