विश्वको सर्वोत्कृष्ट खेलाडी पुरस्कार रोनाल्डोलाई

maitrinews

काठमाडौँ । रोनाल्डोले भनेका छन्, ‘यो त सपना पूरा भए जस्तै हो ।’ उनले चौथो पल्ट बेलन डे’अर जिते । विश्वकै उत्कृष्ट खेलाडीको होडमा उनले आफ्ना सबैभन्दा ठूला प्रतिद्वन्द्वी खेलाडी लियोनल मेसीलाई उछिने । रियल म्याड्रिड स्टारका लागि यो एक अर्को उत्कृष्ट वर्षको सुन्दर अन्त्य जस्तै रह्यो । उनले पछिल्ला तीन सिजनमा दोस्रो पल्ट युरोपेली च्याम्पियन्स लिग जिते । अनि पोर्चुगललाई पहिलो ठूलो उपाधि दिलाए, युरो २०१६ का रूपमा ।

फाइनलमा फ्रान्समाथि प्राप्त जितमा चोटका कारण पोर्चुगल मैदानमा लामो समय भने टिकेका थिएनन् । पछिल्लो एक दशकदेखि एकै खाले ‘ट्रेन्ड’ चलिरहेको छ, उत्कृष्ट खेलाडीका लागि ३१ वर्षीय रोनाल्डोको मुख्य प्रतिस्पर्धा मेसी । अर्जेन्टिनी स्टार मेसीका लागि यो वर्ष उति साह्रो सुखद रहेन, भलै उनले अर्जेन्टिना र बार्सिलोनाका लागि लगातार राम्रो खेलिरहेका छन् । अब रोनाल्डो मेसीले जितेको बेलन डे’अरको संख्या भन्दा एक पछाडि छन् ।

मेसी यसपल्टको होडमा दोस्रो भए । तेस्रो भने फ्रान्सेली स्ट्राइकर एन्टोन ग्रिजमन । यसपल्ट रोनाल्डोले हात पारेको सफलतामा कसैले शंका गर्ने ठाउँ भने छैन । तर अवार्डको घोषणा अगाडि नै उनले नै उपाधि जित्ने तय भएको समाचार चुहिसकेको थियो । अवार्डको आयोजक फ्रान्स फुटबल म्यागेजिनले भने यसबारे औपचारिक घोषणा सोमबार मात्र गरेको थियो । ‘चौथो पल्ट अवार्ड जित्नु मेरो लागि ठूलो उपलब्धी हो,’ रोनाल्डोले थप प्रतिक्रिया दिएका छन् ।