विश्व सुन्दरी बनिन् स्टेफनी डेल भा

अमेरिका । स्टेफनी डेल भाले २०१६ की मिस वर्ल्ड बनेकी छन् । पोर्तुगलकी १९ वर्षे स्टेफेनीले ११६ सुन्दरीलाई पछि पार्दै क्राउन जितेकी हुन् । अमेरिकाको मेरिल्यान्डमा आयोजित ६६ औं संस्करणको मिस वर्ल्डमा डोमिनिक रिपब्लिककी सुन्दरी फस्ट रनरअप र इन्डोनेसियाकी सुन्दरीले सेकेन्ड रनरअपमा चित्त बुझाए । स्टेफनीलाई गत वर्षकी मिस वल्र्ड मिरिया लालागुनाले क्राउन लगाइदिएकी थिइन् । ‘यति बेला मैले आफूलाई सम्मानित महसुस गर्नुका साथै ठूलो जिम्मेवारीबोध पनि गरेकी छु,’ मिस वल्र्ड भएपछि क्यारेबियन सुन्दरीले भनिन् । पोर्चुगलले सन् १९७५ पछि दोस्रो पटक क्राउन घर ल्याएको हो ।

मिस वर्ल्ड स्टेफनी मोडलका साथै म्युजिसियन पनि हुन् । क्राउन जितेपछि उनले फिल्म क्षेत्रमा समेत प्रवेश गर्न सक्ने संकेत दिएकी छन् । न्युयोर्कको पेस युनिभर्सिटीमा कम्युनिकेसन स्टडिज लिएर स्नातक पढ्दै गरेकी उनी स्पेनिस, अंग्रेजी र फ्रेन्च बोल्न सक्छिन् ।

पाँच फिट आठ इन्च अग्ली उनी आफ्नै देशको ‘मिस पोर्चुगल हुँदै मिस वल्र्ड उपाधिका लागि भिडेकी हुन् ।

मिस वर्ल्डमा नेपाली र भारतीय सुन्दरी भने उत्कृष्ट २० मा पनि पर्न सकेनन् । नेपालका तर्फबाट मिस नेपाल अश्मी श्रेष्ठले प्रतिस्पर्धा गरेकी थिइन् । नेपालले आशा गरेको ब्युटी विथ अ पर्पसको उपाधि भने इन्डोनेसियाको पोल्टामा गयो ।

मिस वर्ल्डमा यसपटक क्यानडाकी प्रतिस्पर्धी कन्ट्रोभर्सीमा परिन् । चीनमा जन्मेकी अनास्टासिया लिनले चीनको मानव अधिकारविरुद्धमा आफ्ना धारणा राखेपछि विवाद निम्तिएको थियो । मिस वल्र्डका अधिकारीले उनलाई कम्तीमा तीन साताका लागि कुनै पनि चीनविरोधी कुरा मिडियामा नबोल्न बारम्बार सजग गराउँदै आएका थिए ।