कालीकोटमा लामखुट्टेजन्य रोगको जोखिम : कालाजार, डेङ्गी र औलोका बिरामी भेटिए

काठमाडौँ, असार २५ । हिमाली जिल्ला कालीकोटमा पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामीहरू बढ्दो क्रममा फेला पर्न थालेका छन् । विगतमा तराई र पहाडी जिल्लाहरूमा मात्र देखिने गरेका डेङ्गी, औलो र कालाजार जस्ता रोगहरू अहिले हिमाली क्षेत्रमा समेत स्वास्थ्य चुनौतीका रूपमा देखा परेका हुन् ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै जिल्लामा यी रोगका १९ जना बिरामी फेला परेका छन्। जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार सङ्क्रमितहरूमध्ये १० जनामा डेङ्गी, ८ जनामा कालाजार र १ जनामा औलो पुष्टि भएको छ।

पीडितहरूको भौगोलिक अवस्था
जिल्लाका ९ वटा स्थानीय तहमध्ये ६ वटामा यी रोगको प्रकोप देखिएको छ। खाँडाचक्र नगरपालिकामा ८, पलाँता र नरहरिनाथ गाउँपालिकामा १-१ जनामा डेङ्गी,  खाँडाचक्र र पचालझरना नगरपालिकामा २-२ जना तथा रास्कोट, शुभकालिका, पलाँता र नरहरिनाथ गाउँपालिकामा १-१ जनामा कालाजार र  खाँडाचक्र २ मा एक जनामा औलो सङ्क्रमण देखिएको छ ।

रोग फैलनका कारणहरू
जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख रत्नवीर सुनारले जलवायु परिवर्तनका कारण तापक्रम बढ्दा चिसो स्थानमा पनि लामखुट्टेको प्रजनन र विकास हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सडक निर्माण, अव्यवस्थित शहरीकरण र तराईका जिल्लाहरूसँगको बढ्दो आवतजावतका कारण पनि यी रोग भित्रिएका हुन् । विशेष गरी कर्णाली र तिला नदी किनारका बस्तीहरूमा यसको जोखिम उच्च देखिएको छ।’

नियन्त्रणका प्रयासहरू
सङ्क्रमणको दर बढ्न थालेपछि स्वास्थ्य कार्यालयले रोकथामका लागि सक्रियता बढाएको छ । महामारी रोग नियन्त्रण शाखाका प्रमुख हेमराज बमका अनुसार स्थानीय स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी ‘लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने’ अभियान सुरु गरिएको छ ।

यसका साथै, जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई पानी जम्ने ठाउँहरू सफा राख्न, झुलको प्रयोग गर्न र व्यक्तिगत सतर्कता अपनाउन सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।