मेसीलाई पछि पार्दै रोनाल्डो बने फिफाको उत्कृष्ट वर्ष खेलाडी

maitrinews

जुरिच । क्रिस्टियानो रोनाल्डो फिफाको वर्षको उत्कृष्ट खेलाडी चुनिएका छन् । ज्युरिचमा गएराति आयोजना गरिएको भब्य कार्यक्रममा रियल म्याड्रिडका पोर्चुगाली खेलाडी रोनाल्डोले उत्कृष्ट खेलाडीको होडमा लियोनल मेसी र एन्टोन ग्रिजमनलाई उछिने । डिसेम्बरमै मात्र ३१ वर्षीय रोनाल्डोले बेलन डे’अर उपाधि पनि जितेका थिए । गत वर्षसम्म दुवै अवार्ड संयुक्त रूपमा प्रदान गरिन्थ्यो । यसै पल्टदेखि फिफाले अलगै जाने निर्णय गरेको थियो ।
तर रोनाल्डोलाई यी दुवै अवार्ड जित्नबाट कसैले रोक्न सकेनन् । सन् २०१६ मा उनको प्रदर्शन नै यस्तै थियो । पोर्चुगलका लागि एकातर्फ उनले युरो २०१६ जिते । अर्कातर्फ रियलका लागि जिते, युरोपेली च्याम्पियन्स लिग । यी दुवै उपाधि जितेको स्थितिमा रोनाल्डोलाई उनका खास प्रतिद्वन्द्वी मेसीले बलियो टक्कर दिन सकेनन् । फेरि रोनाल्डोको व्यक्तिगत प्रदर्शन पनि गजब थियो । उनले सन् २०१६ मा कुल ४४ खेल खेले, त्यसमा ४२ गोल गरे ।

अनि १४ गोलमा सहयोगी भूमिका निभाए । अवार्ड जितेयता उनको प्रतिक्रिया थियो, ‘मेरो खेल जीवनमा सन् २०१६ सबैभन्दा उत्कृष्ट रह्यो । पोर्चुगलका लागि युरो जित्नु गजब थियो, अनि यसबीच रियलका लागि च्याम्पियन्स लिग र क्लब वल्र्ड कप जित्नुलाई पनि कसरी बिर्सन सकिन्छ ? त्यसैले यी सबै पृष्ठभूमिमा फिफाको यो अवार्ड जित्नुले ठूलो खुसी दिएको छ । यसमा मलाई गर्व पनि छ ।’ बार्सिलोनाका अर्जेन्टिनी खेलाडी मेसीले स्पेनी ला लिगा त जिते, तर आफ्नो देशलाई कोपा अमेरिका दिलाउन सकेनन् ।