अपराध लुकाउन प्रयोग हुने ‘कालोसिसा’ विरुद्ध ट्राफिकको अप्रेसन: एकैदिन ५७ सवारी कारबाहीमा

काठमाडौँ, १४ असार । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा नियमविपरीत प्रयोग गरिने ‘कालोसिसा’ (ब्ल्याक फिल्म) विरुद्धको कारबाहीलाई तीव्र पारेको छ। आइतबार उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष जाँच (चेकिङ) का क्रममा ५७ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार कानुनविपरीत सवारीको स्वरूप परिवर्तन गरी कालोसिसा राख्ने प्रवृत्ति बढेपछि निगरानी बढाइएको हो। “आज मात्रै ५७ वटा सवारीसाधनलाई जरिबानासहित कारबाही गरेका छौँ,” एसएसपी काफ्लेले भन्नुभयो, “नियम उल्लंघन गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइनेछ।”

ट्राफिक प्रहरीका अनुसार विशेषगरी निजी कार, माइक्रोबस र ट्याक्सीहरूमा कालोसिसाको प्रयोग बढी देखिने गरेको छ। सिसा कालो हुँदा सवारीभित्र हुने गतिविधि बाहिरबाट देख्न कठिन हुन्छ। यसको फाइदा उठाएर साना हतियार, लागुऔषध, तस्करीको सुन तथा अवैध मुद्रा ओसारपसार गर्न र फरार अपराधीहरूको आवतजावत लुकाउन सहज हुने गरेको प्रहरीको निष्कर्ष छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ ले सम्बन्धित निकायको पूर्वस्वीकृति बिना सवारी साधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन गर्न रोक लगाएको छ। सिसामा कालो फिल्म टाँस्नुलाई पनि सवारीको स्वरूप परिवर्तन मानिन्छ, जुन गैरकानुनी हो।

पछिल्लो समय सार्वजनिक सवारीमा समेत यस्तो प्रयोग बढेपछि यात्रुहरूको सुरक्षालाई समेत ध्यानमा राखी ट्राफिक प्रहरीले यो अभियान सुरु गरेको हो। प्रहरीले आगामी दिनमा पनि कालोसिसा प्रयोग गर्ने सवारीमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *