कागका कारण काठमाडौँ उपत्यकामा ‘बर्ड फ्लु’ फैलियो, ११ जिल्लामा सङ्क्रमण
काठमाडौँ, १४ असार । काठमाडौँ उपत्यकामा पछिल्लो समय देखिएको बर्डफ्लु सङ्क्रमणका लागि ‘काग’ मुख्य जिम्मेवार रहेको पाइएको छ। पशु सेवा विभागका अनुसार खुला रूपमा उड्ने कागहरूमा सङ्क्रमण देखिएपछि उपत्यकाभर यो रोग नियन्त्रण बाहिर जाने खतरा बढेको हो।
विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार कुखुरामा देखिने बर्डफ्लुलाई फार्मभित्रै नियन्त्रण गर्न सकिए पनि कागलाई नियन्त्रणमा लिन नसकिने हुँदा चुनौती थपिएको छ। “कागले सङ्क्रमण बोकेर एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुर्याउँछन्, जसका कारण सदर चिडियाखानालगायत धेरै सार्वजनिक स्थलहरूमा जोखिम बढेको छ,” डा. दाहालले भने।
विज्ञहरूका अनुसार सङ्क्रमित कागले कम्तीमा २१ दिनसम्म रोग सार्न सक्छन्। कागको सुलि (दिसा) र मरेका कागका कारण सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ। “काग कहाँ मर्छ भन्ने पत्ता लगाउन कठिन हुन्छ, त्यही मरेको काग वा यसको सुलिबाट अन्य पन्छी र फार्महरूमा रोग सरेको देखिन्छ,” विभागले जनाएको छ।
हाल काठमाडौँ उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा बर्डफ्लु पुष्टि भइसकेको छ। विभागको तथ्याङ्क अनुसार देशभरका ११ जिल्लाका १०० भन्दा बढी स्थानमा सङ्क्रमण फैलिएको छ। उपत्यकाको हकमा कीर्तिपुर र कागेश्वरी मनहरा नगरपालिका बाहेकका अन्य क्षेत्रमा सङ्क्रमणलाई धेरै हदसम्म नियन्त्रणमा लिइएको दाबी गरिए पनि कागका कारण पुनः फैलिन सक्ने त्रास कायमै छ।
पन्छीमा लाग्ने यो उच्च मृत्युदर भएको सङ्क्रामक रोग नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरेको छ। सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा प्रभावित क्षेत्रका पन्छी नष्ट गर्ने र निःसङ्क्रमण गर्ने कार्य भइरहेको छ।
पशु सेवा विभागले सर्वसाधारणलाई मरेका चराचुरुङ्गी वा काग देखेमा खाली हातले नछुन र तत्काल नजिकको पशु सेवा केन्द्रमा खबर गर्न आग्रह गरेको छ।