भेनेजुएलामा शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेकाे संख्या १,४३० पुग्याे, ५० हजारभन्दा बढी बेपत्ता

एजेन्सी, १४ असार । दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गत बुधबार गएको शक्तिशाली दोहोरो भूकम्पका कारण हालसम्म १ हजार ४३० जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५० हजारभन्दा बढी मानिस बेपत्ता छन्। भूकम्प गएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि भग्नावशेषमा पुरिएका जीवित मानिसहरूको खोजी र उद्धारका लागि उद्धारकर्मीहरू अहोरात्र खटिएका छन्।

विज्ञहरूका अनुसार प्राकृतिक विपत्तिपछिको पहिलो ७२ घण्टा जीवित मानिस भेटिने सबैभन्दा महत्त्वपूर्ण समय (गोल्डेन आवर) मानिन्छ। सो अवधि समाप्त भई जीवितै उद्धार गर्ने सम्भावना क्षीण बन्दै गए पनि शनिबार साँझ भेनेजुएलाको उत्तरी सहर काराबालेडामा भग्नावशेषबाट ११ वर्षीय एक बालकको सकुशल उद्धार गरिएको छ।

अन्तरिम नेतृ डेल्सी रोड्रिगेजले यस उद्धारको भिडियो सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै हरेक नागरिकको जीवन भेनेजुएलाका लागि आशाको ठूलो स्रोत भएको बताउनुभएको छ। उद्धार टोलीमा सहभागी एक उद्धारकर्मीले यति लामो समयपछि मानिस जीवितै भेटिनुलाई दैवी चमत्कारको संज्ञा दिनुभएको छ।

लामो समयदेखि गम्भीर आर्थिक सङ्कट र राजनीतिक अस्थिरता झेलिरहेको भेनेजुएलामा यस प्राकृतिक विपत्तिले मानवीय सङ्कट थप जटिल बनाएको छ। गत जनवरीमा अमेरिकी विशेष सैन्य बलले तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि यहाँ अमेरिकी समर्थन प्राप्त अन्तरिम सरकार सञ्चालनमा छ।

हाल लाखौँ भूकम्पपीडितहरू स्वच्छ खानेपानी, सरसफाइ र आधारभूत आवश्यकताको अभाव झेलिरहेका छन्। मियामीबाट उद्धारका लागि ला गुआइरा पुग्नुभएका अष्ट्रेलियाली अग्नि नियन्त्रक क्रेग डेमिलोनले भग्नावशेष हटाउने ठूला मेसिनहरूको अभावका कारण स्थानीय बासिन्दाहरूले हातैले ढुङ्गा-माटो पन्छाउनुपरेको भन्दै अवस्था निकै कष्टकर रहेको जानकारी दिनुभयो।

अन्तरिम नेतृ रोड्रिगेजले विपद्को यस घडीमा सहायता उपलब्ध गराउने अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिनुभएको छ। संयुक्त राज्य अमेरिकाले मानवीय सहयोग सामग्री ल्याउन सिमोन बोलीभर अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आंशिक रूपमा खुला गराई आफ्ना ‘सी–१७’ सैन्य कार्गो विमानहरू अवतरण गराउन सुरु गरेको छ भने अमेरिकी नौसेनाको एउटा पानीजहाज पनि भेनेजुएलाको तटमा पुगिसकेको छ।

संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले हालसम्मको प्रारम्भिक अनुमान अनुसार ५० हजारभन्दा बढी मानिसहरू बेपत्ता रहेको र उनीहरूको खोजी कार्यलाई प्राथमिकता दिइएको पुष्टि गर्नुभयो।