विश्वकप २०२६ को नकआउट चरणमा युरोप र अफ्रिकाको दबदबा, राउण्ड अफ ३२ को खेलतालिका सार्वजनिक
काठमाडौँ, १४ असार । उत्तर अमेरिका (अमेरिका, मेक्सिको र क्यानडा) मा जारी फिफा विश्वकप २०२६ को समूह चरण सम्पन्न भएसँगै अन्तिम ३२ (राउण्ड अफ ३२) को समीकरण पूरा भएको छ। पहिलो पटक ४८ टोली सहभागी विश्वकपमा ७२ वटा समूह चरणका खेल सम्पन्न भएपछि ३२ टोलीले नकआउट चरणमा स्थान बनाएका छन्।
यस संस्करणमा १२ समूहका विजेता र उपविजेता गरी २४ टोली तथा उत्कृष्ट प्रदर्शन गर्ने आठ तेस्रो स्थानका टोलीले नकआउट चरणमा प्रवेश गरेका हुन्। विश्वकपको नयाँ ढाँचाअनुसार पहिलो पटक राउण्ड अफ ३२ समावेश गरिएको हो।
साबिक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, ब्राजिल, जर्मनी, स्पेन, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगलजस्ता उपाधि दाबेदार टोलीहरू अन्तिम ३२ मा पुगेका छन्। तर दुई पटकको विश्व विजेता उरुग्वे भने समूह चरणबाटै बाहिरिएको छ।
घरेलु समर्थकको साथ पाएका सहआयोजक अमेरिका, मेक्सिको र क्यानडाले नकआउट चरणमा स्थान बनाएका छन्। विशेषगरी क्यानडाले विश्वकप इतिहासमै पहिलो जित र पहिलो पटक नकआउट चरणमा पुगेर नयाँ इतिहास रचेको छ। यस्तै पुनरागमन गरेका नर्वे, बोस्निया–हर्जगोभिना र दक्षिण अफ्रिकाले पनि प्रभावशाली प्रदर्शन गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेका छन्।
महादेशअनुसार नकआउट चरणमा पुगेका टोली
नकआउट चरणमा सबैभन्दा बढी युरोपका १३ टोली पुगेका छन्। अफ्रिकाबाट ९ टोली, दक्षिण अमेरिकाबाट ५ टोली, उत्तर अमेरिकाबाट ३ टोली तथा एसियाबाट २ टोलीले अन्तिम ३२ मा स्थान बनाएका छन्। ओसियानाको एक मात्र प्रतिनिधि न्युजिल्यान्ड भने समूह चरणबाटै बाहिरिएको छ।
अफ्रिकाबाट दक्षिण अफ्रिका, मोरक्को, आइभरी कोस्ट, इजिप्ट, केप भर्डे, सेनेगल, डीआर कंगो, घाना र अल्जेरिया नकआउटमा पुगेका छन् भने दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर र पाराग्वेले स्थान बनाएका छन्। एसियाबाट जापान र अस्ट्रेलिया मात्र अन्तिम ३२ मा पुग्न सफल भए।
अब राउण्ड अफ ३२ का खेल असार १५ गतेदेखि सुरु हुनेछन्। उद्घाटन खेलमा दक्षिण अफ्रिका र सहआयोजक क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। यस चरणका विजेता टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् भने पराजित टोलीको विश्वकप यात्रा समाप्त हुनेछ। राउण्ड अफ ३२ अन्तर्गत ब्राजिल–जापान, जर्मनी–पाराग्वे, नेदरल्यान्ड्स–मोरक्को, फ्रान्स–स्वीडेन, मेक्सिको–इक्वेडर, इंग्ल्यान्ड–डीआर कंगो, अमेरिका–बोस्निया, स्पेन–अस्ट्रिया, पोर्चुगल–क्रोएसिया र स्विट्जरल्यान्ड–अल्जेरियालगायत आकर्षक प्रतिस्पर्धा हुनेछन्।