देउवाको ठाडो दबाबमा नवलवरासीका एलडीओको सरुवा

काठमाडौँ । नवलपरासीका स्थानीय विकास अधिकारी जीवलाल भुसाल र योजना तथा प्रशासकीय अधिकृत प्रकास पन्थीलाई निजामती सेवा नियमावलीको धज्जी उडाउदै काज सरुवा गरिएको छ । दुई बर्ष सेवा अवधी पूरा गरिसकेपछि सरुवा गरिने चलन भए पनि उनीहरुलाई पूर्वाग्रहका आधारमा सरुवा गरिको हो । त्यहाँका खोलाबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी बिक्री वितरण गर्ने स्मृति निर्माण कम्पनी नवलपरासीलाई कारवाही प्रक्रिया अगाडि बढाएका उनीहरुलाई धादिङ जिविसमा र मन्त्रालयमा काज सरुवा गरिएको हो । भुसाललाई धादिङ र पन्थीलाई मन्त्रालय सरुवा गरिएको बुझिएको छ । त्यहाँका सर्वसाधरण र सबैजसो राजनीतिक दलले विरोध प्रदर्शन र चक्काजाम समेत गरेका छन् । जिल्ला अनुगमन समितिले तीन साताअघि केरुङ्गे खोलामा नदीजन्य सामग्री संकलन गरी ओसारपसार गरिरहेको अवस्थामा २७ टिपरसहित ३० सवारी साधन पक्राउ गरेर रु ६५ लाख जरिवाना तोकेको थियो । स्मृति निर्माण कम्पनी नवलपरासीको नाममा जरिवाना तोकेपछि १६ टिपरहरुले रु ३५ लाख राजश्व बुझाएर छुटेका थिए । त्यसैगरी अन्य टिपर र तीनवटा जेसिभी इलाका प्रहरी कार्यालय कावासोतीको नियन्त्रणमा छन् । सवारी साधन पक्राउसँगै भुसालले केरुङ्गे खोलामा संकलन गरी राखेका करिब रु ३० करोड बराबरको नदीजन्य पदार्थसमेत जफत गरेर लिलाम प्रकृया अघि बढाएका थिए । तर त्यही कारोबारमा संलग्न व्यवसायीहरु लालप्रसाद पाठक र बिष्णु कार्कीहरुलाई मन परेको थिएन । उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको सहयोगमा भुसाल र पन्थीको सरुवा गराउन मन्त्रालय दौडधुप गरेका थिए । त्यही शीलशिलामा उनीहरुको सरुवा भएको हो । स्थानीय विकासमन्त्री हितराज पाण्डे र मन्त्रालयका अधिकारीसमेत सरुवाको विपक्षमा रहे पनि उनीहरुको सरुवा भएको हो । देउवाले समेत ठेकेदारहरुको दबाब थेग्न नसकेर अन्तिममा सरुवा गरेको स्रोतको दाबी छ ।
जिल्लामा सरुवा भएर आउने वित्तिकै आफूले राजश्व संकलनलाई पहिलो र विकासका गतिविधिलाई दोस्रो प्राथमिकतामा राखेर मिशन चलाएपछि सिमित लाभको पछाडि लाग्ने केही नेताहरु र व्यवसायीहरुको असहयोगले आफू सरुवा हुन परेको भुसालको आरोप छ । भुसालको स्थानमा स्थानीय विकास मन्त्रालय पञ्जीकरण विभागका उपसचिव युवराज कट्टेललाई पठाइएको छ ।