रङ्गकर्मी फुयाँलको शालिक निर्माण गर्न माग

 

काठमाडौँ, १ माघ । राष्ट्रिय नाचघरमा नाटक अभिनय गर्दागर्दै निधन हुनुभएका वरिष्ठ रङ्गकर्मी विष्णुभक्त फुयाँलको सो स्थलमा शालिक निर्माण गर्न माग गरिएको छ ।

कुसुम नाट्य समूहले सो माग गर्दै उहाँको स्मृतिमा रु पाँच हजार राशिको पुरस्कार स्थापनाको निर्णय गरेको छ । समूहले उहाँको नाममा नाट्यशालाको नामकरण गरी संस्थानकै हाताभित्र फुयाँलको अर्धकदको सालिक निर्माण गर्न सांस्कृतिक संस्थानसँग माग गरेको हो ।

पाँच दशकसम्म नाटक लेखन, निर्देशन र अभिनयमा सक्रिय रहनुभएका फुयाँलको सांस्कृतिक संस्थान (नाचघर), जमलले मन्चन गरेको नाटकको अभिनयकै क्रममा यही पुस १९ गते नाचघरको रङ्गमञ्चमा निधन भएको थियो । फुयाँल सो नाट्य समूहका अध्यक्ष पनि हुनुहुन्थ्यो ।

समूहका संस्थापक अध्यक्ष वैकुण्ठ भण्डारीले नाटक लेखक, निर्देशक, रङ्गकर्मी, रङ्ग पत्रकारका रुपमा दुई दशकदेखि योगदान पु¥याउँदै आएका व्यक्तित्वलाई नगद रु पाँच हजार र ताम्रपत्रसहित विष्णुभक्त फुयाँल स्मृति रङ्गकर्म पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।

फुयाँलको भोलि आइतबार १३ दिनको स्मृतिसभा गरिनेछ । रासस