नेपाल—इन्डिया रिलेसन्स्’ पुस्तक लोकापर्ण

काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्बाङले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ समसामयिक र व्यावहारिक बनाउँदै आपसी,हित,सहकार्य, शान्ति र समुन्नति लागि मिलेर अगाडि बढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
अन्तर्राष्ट्रिय सरोकार केन्द्रद्वारा बिहीबार चेम्बर भवनमा आयोजित ‘नेपाल—इन्डिया रिलेसन्स्’ नामक पुस्तकको लोकार्पण गर्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।
समारोहका प्रमुख अतिथि नेता नेम्वाङले नेपाल र भारतबीचको सम्बन्धमा बेलाबखत उतारचढाव आए पनि दुई असल छिमेकीका रुपमा एकले अर्कालाई सम्मान गर्दै दुवै देशले साझा हितका लागि मिलेर काम गर्नुको विकल्प नरहेको स्पष्ट गर्नुभयो ।
उहाँले नेपाल र भारतको सम्बन्धका विषयमा गहन अध्ययन र अनुसन्धन गरी विभिन्न व्यक्तित्वहरुका विचार समेटी लखिएको यो पुस्तक अत्यन्तै समसामायिक र उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा सीमाविद् बुद्धिनारायण श्रेष्ठले लोकार्पित पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिका लेखहरु,विचार,दृष्टिकोणहरु नेपाल र भारतको सम्बन्धका विविध विषयमा जान्न चाहनेहरुका लागि महत्वपूर्ण सामग्री बन्ने बताउनुभयो । उहाँले नेपार र भारतबीच रहेका असहमति,विवाद र विमतिलाई सर्वमान्य अन्तर्राष्ट्रिय सिद्धान्त तथा परराष्ट्रनीतिका आधारमा समाधान गर्दै एकअर्काबीच असल छिमेकी बन्नुपर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय सरोकार केन्द्रका अध्यक्ष तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वउपकार्यकारी निर्देशक डा। अन्जान शाक्यको सभापतित्वमा भएको सो समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै उहाँले नेपाल र भारतबीचको सम्बन्ध बढाउन र वास्तविक रुपमा सम्बन्ध कसरी अगाडि बढिरहेको छ र बढ्नुपर्छ भन्ने विषयमा पुस्तकका लेखहरु केन्द्रित रहेको जानकारी दिनुभयो ।
उहाँले मुलुकको आन्तरिक एकता दह्रो बनाई अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत हुन सकेको खण्डमा देशको गौरब र गरिमा बढाउन सकिन्छ भन्दै सुनिश्चित परराष्ट्र नीतिका साथ अगाडि बढेमा देशलाई समृद्ध,उन्नत र आर्थिक विकासमा केन्द्रित गराउन सकिने बताउनुभयो ।
समारोहमा अन्तर्राष्ट्रिय सरोकार केन्द्रका सदस्य तथा पोल्यान्डका लागि अवैतनिक महावाणिज्यदूत लोकमान्य गोल्छाले धन्यवाद ज्ञापन गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
माधवजी श्रेष्ठ र डा।अन्जान शाक्यले सम्पादन गर्नुभएको अङ्गे्रजी भाषामा लेखिएको सो पुस्तकमा प्रधानमन्त्री,पूर्वप्रधानमन्त्रीहरु,प्रमुख दलका शीर्ष नेताहरु,पूर्वपरराष्ट्रमन्त्रीहरु,पूर्वराजदूतहरु र परराष्ट्रविद्हरु गरी २५ जना व्यत्तित्वहरुबाट सिर्जित समसामायिक लेख,रचना,विचार तथा दृष्टिकोण समावेश गरिएको छ ।समारोहमा विभिन्न राजनीतिक दलका नेताहरु,बुद्धिजीवीहरु, प्राध्याकहरु, पूर्व राजदूतहरु, उद्योगी तथा ब्यापारीहरुको सहभागिता रहेको थियो ।