चीनले विदेशी फुटबल खेलाडी कटौती गर्दै

बेइजिङ । फुटबल क्लबले विदेशी खेलाडी भित्र्याउन खर्चिने ठूलो धनराशीमा अंकुश लगाइने भएको छ। यसका लागि क्लबले भित्र्याउने विदेशी खेलाडी संख्या घटाउने चीनले यसै साता घोषणा गरेको छ। पछिल्लो समय इङलिस क्लब चेल्सीबाट ठूलो रकममा डिएगो कोस्टा चिनियाँ क्लबमा आबद्ध हुने समाचारले फुटबल जगत तरंगित भएको थियो। कोस्टाको समाचार सार्वजनिक भएलगत्तै चीनले भने विदेशी खेलाडीको संख्या कटौती गर्ने अर्को सनसनीपूर्ण घोषणा गर्‍यो।

नयाँ घोषणाअनुसार चीनियाँ सुपर लिगको एउटा खेलमा कुनै पनि क्लबले ३ भन्दा बढी विदेशी खेलाडी खेलाउन पाउने छैनन्। यो नियम यसै वर्षदेखि लागू हुने चीनियाँ फुटबल संघ सिएफएको वेभसाइटमा उल्लेख छ। चीनमा वर्षेनी मार्चमा राष्ट्रिय लिग सुपर लिग सुरु हुन्छ।

यसअघि सुपर लिगमा चिनियाँ क्लबले एकपटकमा ४ जना विदेशी खेलाडी मैदानमा उतार्न पाउँथे। तर तीमध्ये एक जना एसियाली फुटबल महासंघ ९एएफसी० को सदस्य देशको हुनुपर्ने प्रावधान थियो। सिएफएका अनुसार नयाँ निर्णयले चिनियाँ फुटबलको समग्र विकास, स्थानीय खेलाडी उत्पादन र राष्ट्रिय टोलीको खेलस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ।

सिएफएले खेलाडीको सरुवा र पारिश्रमिकमा क्लबहरूले खर्चिरहेको औचित्यहिन ठूलो धनराशीमा लगाम कस्न सक्रिय हुने पनि जनाएको छ।

जनवरी १ मा हिउँदे सरुवा बजार खुलेपछि ठीक बीचमा सिएफएको निर्णय आएको छ। निर्णयले प्रक्रिया सुरु भएर टुंगिन लागेका खेलाडी सरुवा र अनुबन्ध प्रभावित हुनेछन्।

फुटबलप्रेमी राष्ट्रपति सी चिनफिङको चीनलाई फुटबलको शक्ति राष्ट्र बनाउने, विश्वकप आयोजना गर्ने र विश्वकप जित्ने परिकल्पनाबाट निकै उत्साहित सुपर लिग क्लबका व्यावसायिक मालिकहरूले दिल खोलेर आफ्ना टोलीमा विदेशी खेलाडी भिœयाउन खर्च गरिरहेका छन्। यसका साथै उनीहरू फुटबलको आधारभूत विकासमा समेत ठूलो लगानी गरिरहेका छन्।

चिनियाँ क्लब संघाई एसआइपिजीले गत महिना चेल्सीका ब्राजिली मिडफिल्डर ओस्कारलाई भित्र्याउन ६ करोड ३० लाख अमेरिकी डलर ९६ करोड युरो तिरेको थियो। यो यस वर्ष एसियाली क्लबले कुनै खेलाडीका लागि तिरेको ठूलो सरुवा रकममध्ये पाँचौं हो।