पृथ्वीराजमार्ग सडक विस्तारसँगै ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा तीव्रता, घाँसीकुवामा बृहत् पार्क बन्ने

तनहुँ, १ जेठ । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार कार्यसँगै तनहुँ खण्डमा पर्ने ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको पुनर्निर्माणले गति लिएको छ। सडकको स्तरोन्नति सकिएलगत्तै आयोजनाले सडक सीमाभित्र परेर विस्थापित भएका मठमन्दिर, पाटीपौवा र सांस्कृतिक स्थलहरूलाई पुरानै मौलिकतामा फर्काउन सुरु गरेको हो।

पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) का सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार ४१ किलोमिटर सडक खण्डको कालोपत्र र प्राविधिक काम सम्पन्न भएसँगै अहिले सम्पदा पुनर्निर्माणलाई प्राथमिकता दिइएको छ। एसियाली विकास बैंक (एडिबी) को करिब ६ अर्ब ३१ करोड रुपैयाँ लागतमा सो सडक खण्डको स्तरोन्नति गरिएको हो।

“सडक विस्तारका क्रममा भत्काइएका धार्मिक तथा सांस्कृतिक संरचनाको संरक्षणका लागि आयोजनाले करिब दुई करोड रुपैयाँ विनियोजन गरेको थियो,” इन्जिनियर पाण्डेले भन्नुभयो, “अहिले अधिकांश मठमन्दिर र पाटीपौवाको निर्माण धमाधम भइरहेको छ।”

राजमार्गकै ऐतिहासिक महत्व बोकेको व्यास नगरपालिका–१२ स्थित घाँसीकुवा र भानु–घाँसी पार्कलाई विशेष रूपमा पुनर्निर्माण गर्ने तयारी गरिएको छ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र घाँसीको प्रेरक प्रसङ्ग जोडिएको यस स्थललाई पर्यटकीय र सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्न संरक्षण समितिले तीन करोड रुपैयाँको बृहत् गुरुयोजना तयार पारेको छ।

सोही गुरुयोजनाअनुसार पार्क र ऐतिहासिक कुवालाई थप व्यवस्थित र आकर्षक बनाइने आयोजनाले जनाएको छ। वि.सं. २०७७ माघमा ठेक्का सम्झौता भई सुरु भएको यो आयोजनालाई मुलुकको ‘लाइफ लाइन’ मानिने राजमार्गको नमुना विस्तारका रूपमा हेरिएको छ। भौतिक विकाससँगै स्थानीय संस्कृति र इतिहासको जगेर्ना गर्ने आयोजनाको यो कार्यलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *