जेठ २ गते काठमाडौँको २२ वडामा महोत्सव हुने : १२ विधाका कार्यक्रमसहित ४ लाख सहभागी हुने अपेक्षा
काठमाडौँ, वैशाख ३१ । काठमाडौँ महानगरपालिकाको वडा नं. २२ ले आगामी जेठ २ गते शनिवार ‘२२ वडा महोत्सव’ आयोजना गर्ने भएको छ । ‘प्राचीन इतिहासदेखि आधुनिक विकाससम्मका आयामलाई जोड्ने’ मूल नाराका साथ आयोजना हुन लागेको यस महोत्सवमा प्रतियोगितात्मक र प्रदर्शनीसहित १२ विधाका विविध कार्यक्रमहरू समावेश गरिएको वडा कार्यालयले जनाएको छ ।
महोत्सवको औपचारिक सुरुवात जेठ २ गते बिहान साढे ७ बजे क्यान्सर रोग रोकथामको सन्देश दिने ‘वाकाथन’ (पैदल यात्रा) बाट हुनेछ । कार्यक्रमबारे जानकारी दिँदै वडा नं. २२ का अध्यक्ष एवं महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले महोत्सवले सम्पदा संरक्षण र स्थानीय उत्पादनको प्रवद्र्धनमा टेवा पुऱ्याउने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवका मुख्य आकर्षणहरू
महोत्सवमा नेवारी खानाका स्टल, सांस्कृतिक झाँकी (र्याली), हस्तकला तथा घरेलु उत्पादन प्रदर्शनी, रक्तदान र ऐतिहासिक तस्बिर एवं पुस्तक प्रदर्शनी आयोजना गरिनेछ । युवा वर्गलाई लक्षित गर्दै ‘अनलाइन खेलमा आधारित सम्पदा खोजौँ’ कार्यक्रम राखिएको छ, जसले सम्पदा क्षेत्रको पहिचान बढाउन मद्दत गर्ने वडाध्यक्ष महर्जनले बताउनुभयो ।
यस्तै, टेवहालमा बहुभाषिक साहित्यिक कार्यक्रम, खिचापोखरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योगदान पुऱ्याउने २२ मूर्धन्य व्यक्तित्वको सम्मान र धर्मपथस्थित सांस्कृतिक भवनमा चित्रकला प्रदर्शनी हुनेछ । बालबालिकाका लागि धर्मपथमा मनोरञ्जन उद्यान (फन पार्क) को व्यवस्था गरिएको छ ।
सांगीतिक प्रस्तुति र धिमे बाजा प्रतियोगिता
महोत्सवमा स्थानीय कलाकारका साथै चर्चित गायक दीपक बज्राचार्य र रिदम ब्याण्ड तथा कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति रहनेछ । महोत्सवको प्रमुख आकर्षणका रूपमा रहेको ‘धिमे बाजा प्रतियोगिता’ का विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
पार्किङ र व्यवस्थापन
करिब ४ लाख व्यक्ति सहभागी हुने अपेक्षा गरिएको यस महोत्सवका लागि सवारी व्यवस्थापनमा विशेष ध्यान दिइएको छ । सो दिन धरहरा, सिभिल मल, सीटीसी मल, काठमाडौँ मल र एसटीसी मलमा पार्किङको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ ।
न्युरोड, टेवहाल (संकटा), सुन्धारा, खिचापोखरी, प्युखा र गणवहाल जस्ता मुख्य व्यापारिक क्षेत्रहरू समेटिएको वडा नं. २२ मा हाल ८ हजारभन्दा बढी व्यवसायहरू सञ्चालित छन् । प्राचीन र आधुनिक व्यापारिक केन्द्रको संगमका रूपमा रहेको यस वडाले महोत्सवमार्फत पर्यटन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राखेको छ ।