पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा समिति गठन
काठमाडौँ, वैशाख ३१ । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विभिन्न विषयहरूको सत्यतथ्य अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रिपरिषद्को गत वैशाख २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
समितिको सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने रहनुभएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार, वर्तमान प्रतिनिधिसभा सदस्य समेत रहनुभएका गुरुङ मन्त्री पदमा बहाल रहँदा र त्यसपछि उहाँका बारेमा उठेका सार्वजनिक सरोकारका विषयहरूमा केन्द्रित रही अध्ययन गर्न समितिलाई निर्देशन दिइएको छ।
समितिलाई तोकिएको जिम्मेवारी अनुसार, सार्वजनिक रूपमा उठेका विवाद र प्रश्नहरूको गहन अध्ययन गरी सत्यतथ्य पत्ता लगाउनुका साथै आगामी १५ दिनभित्र स्पष्ट राय र सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेस गर्नुपर्ने समयसीमा दिइएको छ।
गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गरी दोषी देखिएमा कानुनी कारबाहीको सिफारिस गर्ने र निर्दोष भए सोही बमोजिमको जानकारी गराउने म्यान्डेट समितिलाई प्राप्त छ।