मोरङमा हतियारधारी समूहव्दारा कर्मचारीमाथि गोली प्रहार, दुई लाखभन्दा बढी रकम लुटियो

मोरङ । मोरङमा दिनदहाडै गोली हानी रकम लुटिएको छ । हतियारधारी समूहले रंगेली ११ गोडीटोल घर भई जीवन विकासका वरिष्ठ फिल्ड सहायक पदमा कार्यरत ३७ वर्षीय घनश्याम बहरदारमाथि गोली प्रहार गरी २ लाख बढी रकम लुटेको छ ।
तीनचार जनाको समूहमा आएको हतियारधारी समूहले प्रहार गरेको एक गोली बहरदारको बायाँ तिघ्रामा लागेको छ । । उहाँको विराट नर्सिङ्ग होममा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सक डा। फणिन्द्रप्रसाद मण्डलका अनुसार बहरदारको बायाँ तिघ्रामा छोडेर गोली निस्केको बाहिरबाट देखिन्छ र तिघ्राभित्र गोली भएरनभएको एक्स–रे भएपछि मात्रै पत्तो लाग्ने र बायाँ तिघ्राको हड्डी समेत भाँचिएको छ । बहरदार खतरामुक्त अवस्थामा रहेको डा। मण्डलले बताउनुभयो ।
जीवन विकास समाजले सञ्चालन गर्दै आएको लघुवित्त कार्यक्रमको रकम असुली गरेर फर्किने क्रममा घटना भएको हो । । हतियारधारी समूहले छडले प्रहार गरेको कारण तिघ्राको हड्डी भाँचिएको हो ।
घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरिसकेको र अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्दिप भण्डारीले बताउनुभयो ।