नेपाल चलचित्र संघले पायो नयाँ नेतृत्व, चलचित्र क्षेत्रका समस्या समधानमा लाग्ने उदयको प्रतिबद्धता

काठमाडौँ । नेपाल चलचित्र संघको नयाँ कार्यसमिति अध्यक्षमा प्रदीपकुमार उदय निर्विरोध निर्वाचित भएका छन् ।
संघको ४४औं साधारणसभाले उदयलाई अध्यक्षमा चयन गरेको हो । सभाले उदयको नेतृत्वसहित १३ सदस्य पनि निर्विरोध चुनिएका हुन् । तीनवर्षे कार्यकालका लागि अन्य पदको बाँडफाँड भने निर्वाचित सदस्यबाटै कार्यसमितिको बैठकले चुन्ने प्रावधान रहेको छ ।

सदस्यहरूमा राजीवकुमार शाह, मिजास पोखरेल, नारायणप्रसाद आचार्य, गोपालकाजी कायस्थ, अर्जुन श्रेष्ठ, विक्रम पराजुली, अशोक शर्मा, नरेन्द्र महर्जन, वीरेन्द्रनारायण श्रेष्ठ, मदनमान बज्राचार्य, मधुसूदन प्रधान, कपिल द्वा र ओम जैसी रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष उदयले संघलाई व्यक्तिगत सोचभन्दा समूहगत सोचले अघि बढाउने जिकिर गर्दै त्यसका लागि सबैलाई गतिशील हुन आग्रह गरे । उनले हाल चर्चामा रहेको हल टिकट बिक्रीसम्बन्धी पारदर्शी बक्सअफिस प्रणाली र चलचित्र नीति लागू गर्नु ठूलो समस्या नरहेको दाबी गर्दै थपे, ‘हामीभित्रका समस्या हामीले नै समाधान गर्न अग्रसर भए कुनै पनि समस्या ठूलो छैन ।’