सेयर बजारमा आएको गिरावट स्याल कराउनु र बाख्रा हराउनु
काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनु केही दिनअघिसम्म साढे १८ सय भन्दामाथि रहेको सेयर बजार ६ महिना बित्दा पहिरो गएर १४ सयको बिन्दुबाट ओरालो लागेको छ।
बजार निरन्तर ओरालो लाग्नुलाई सेयर बजारले कम्यूनिष्ट सरकारसँग विश्वास गर्दैनन् भन्ने विश्लेषण गर्नेहरु पनि प्रशस्त पाइएको छ। कम्यूनिष्टहरु सरकारमा आएका बेला सेयर बजार निरन्तर ओरालो लाग्नुलाई ’स्याल कराउनु बाख्रो हराउनु’ नेपाली उखानसँग तुलना गरिन थालेको छ।
तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टाईले सेयर बजारलाई जुवाको खालको संज्ञा दिएपछि बजारले कम्युनिष्टहरुलाई पत्याउन छोडेको हो । अहिलेको अवस्थामा बजार घट्नुलाई राजनीतिक कारण भन्न नहुने नेपाल स्टक ब्रोकर एसोसिएसनका पुर्वअध्यक्ष अन्जनराज पौडेलको भनाई छ । सेयर बजारमा उतारचढाव हुनु सामान्य मानिन्छ।
नेपालको सेयर इतिहासमा कम्युनिष्टले नेतृत्व गरेकै बेलामा सबैभन्दा उच्च विन्दु १८८१ अंकको सेयर बजार पुगेकाले पनि त्यस्तो भ्रम लगानीकर्ताले पाल्न नहुने विष्लेशकहरु बताउँछन् । मङ्गलबार मात्रै २५ अंकले घटेको बजार बुधबार ३६ अंकले ओरालो लागेको छ। पछिल्लो समयमा बजार मात्रै घटेको छैन, कारोबार रकम पनि निकै ओरालिएको छ ।
पछिल्ला केही समययता राम्रा-राम्रा कम्पनीहरुको आईपीओ, एफपीओ आएको छ। अन्य पनि पाइप लाइनमा रहेका छन्। यो अवस्थामा बजारमा भएको पैसा पनि आईपीओ, एफपीओमा जम्मा भएको छ । त्यहीकारण बजारमा उल्लेख्यरुपमा सुधार आउला भन्न कठिन भएको छ। बजार घटेपनि कारोबार रकममा धेरै नघटेमा भने डराइहाल्नु पर्ने अवस्था एकातिर रहेको छ ।
केही समयअघि लघुवित्तको चुक्तापुँजी बढ्ने चर्चा पनि चलेको थियो । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा चुक्तापुँजी बढाउने विषय प्रष्ट नआएपछि कारोबार रकममा गिरावट आउन थालेको हो, जुन अहिले पनि कायमै छ । बजार घटबढ हुनु र कारोबार रकममा उतारचढाव आउनुमा बिमा समूहको पनि भूमिका रहेको बताइन्छ ।
केही समयअघि बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने चर्चाले सेयर बजारमा चलखेल बढेको थियो । बजारको उतारचढावमा बिमा समूहको प्रत्यक्ष भूमिका रहेको छ । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष सुरु भएको ७ महिनाभित्र अर्थात पुस मसान्त भित्र साधारणसभा गरिसक्छन्।
बैंक तथा वित्तीय संस्थाले बोनस र राइट सेयर दिइसक्ने भएकाले बजारमा लगानीकर्ताको आकर्षण घट्छ । त्यही कारण पनि ती समूहका कम्पनीको सेयर कारोबार कम हुने गरेको हो । नेप्से घटेपनि राम्रा कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण रहेको छ।
आईपीओ तथा एफपीओमा पनि लगानीकर्ताहरुको आकर्षण बढ्ने क्रम कायम छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले दिने कर्जामा ब्याजदर बढेको छ । निरन्तर घट्दो बजारमा बढी ब्याजमा ऋण लिएर सेयर खरिद गर्ने भन्दा बैंकमा जम्मा गर्ने क्रम पनि देखिन थालेको छ । ऋण लिएर सेयर खरिद गर्नेहरु भने घट्न थालेका छन्।
प्रकाशन मिति–२०७३ साल माघ १६ गते आइतवार ।