निर्वाचन घोषणा नगरे एमालेले देशव्यापी आन्दोलन गर्ने खनालको चेतावनी

maitrinews

इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आवश्यक परे मात्र तीन तहको निर्वाचन पछि मात्रै संविधान संशोधन गर्न सकिने बताउनुभएको छ ।

संविधान कार्यान्वयनका लागि जनपरिचालन अन्तर्गत चार महिने अभियानको क्रममा इलामको लक्ष्मीपुर गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गरेर मात्रै संविधान संशोधन गर्न सकिने बताउनुभयो ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग देश विकास गर्ने कुनै नयाँ भिजन नभएको बताउँदै उनले सरकारले खुट्टा कमाएकाले अझै पनि निर्वाचनको मिति घोषणा गर्न नसकेको प्रष्ट पार्नुभयो ।

“अब हुने निर्वाचनपछि काँग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ”, उहाँले भन्नुभयो, “निर्वाचनपछि एमाले देशकै ठूलो पार्टी हुनेछ र मुलुकलाई सफल तरिकाले हाक्नेछ ।”

सरकारले छिट्टै निर्वाचन मिति घोषणा नगरे निर्वाचनको मिति घोषणा गर्न एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताउँदै निर्वाचन नहुँदा मुलुकमा बेथिति बढेको उहाँले बताउनुभयो ।

अङ्गीकृत नागरिकलाई देशको प्रमुख पद दिन नसकिने बताउँदै उहाँले संविधान संशोधनको प्रस्ताव विदेशीको दबाबमा संसदमा दर्ता भए पनि कुनै पनि हालतमा पास हुन नदिने विचार व्यक्त गर्नुभयो ।

सोही अवसरमा विभिन्न पार्टी परित्याग गर्ने ८६ घरका १७५ जनाभन्दा बढी एमालेमा प्रवेश गरेका थिए।