अमेरिका-चीन प्रविधि युद्ध: चीनद्वारा विदेशी लगानी र प्रविधि हस्तान्तरणमा कडा सुरक्षा नियम लागू
एजेन्सी, १७ असार । संयुक्त राज्य अमेरिका र चीनबीच प्रविधि क्षेत्रमा तीव्र प्रतिस्पर्धा भइरहेका बेला चीनले विदेशी लगानी तथा सीमापार व्यापारिक गतिविधिहरूमाथि बुधबारदेखि कडा राष्ट्रिय सुरक्षा नियम लागू गरेको छ।
नयाँ व्यवस्थाले राष्ट्रिय सुरक्षामा प्रभाव पार्न सक्ने विदेशी लगानी, प्रविधि, व्यावसायिक सेवा तथा दक्ष प्राविधिक जनशक्तिको अन्तर्राष्ट्रिय आवागमनमाथि चिनियाँ सरकारलाई व्यापक निगरानी र समीक्षा गर्ने विशेष अधिकार प्रदान गरेको हो।
चीनको मन्त्रिपरिषद् ‘स्टेट काउन्सिल’ ले गत जुन १ मा घोषणा गरेका यी नयाँ नियमहरूले चिनियाँ सीमा पार गर्ने पूँजी, कर्मचारी, प्रविधि र सेवासम्बन्धी गतिविधिलाई नियमन गर्न बलियो कानुनी आधार तयार पारेका छन्। नयाँ व्यवस्थाअनुसार अबदेखि चीन भित्रिने सबै विदेशी लगानीले चीनको ‘समग्र राष्ट्रिय सुरक्षा अवधारणा’ अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।
विशेष गरी कृत्रिम बौद्धिकता (एआई), कम्प्युटर चिप्स (सेमिकन्डक्टर) र हरित प्रविधि (ग्रीन टेक्नोलोजी) जस्ता रणनीतिक उद्योगहरूको स्वदेशी विकासलाई प्राथमिकता दिँदै ती क्षेत्रको सीमापार कारोबारमाथिको निगरानी कडा पारिएको हो।
नयाँ नियमअनुसार हालसम्म वस्तु र डाटा सुरक्षामा मात्र सीमित रहेको निर्यात नियन्त्रणको दायरालाई अबदेखि व्यावसायिक सेवा, प्रविधि हस्तान्तरण तथा चिनियाँ प्राविधिक विशेषज्ञहरूलाई विदेश पठाउने वा विदेशमा तालिम दिने गतिविधिसम्म विस्तार गरिएको छ। यस कदमले चिनियाँ प्रविधि बजारमा विदेशी लगानीकर्ताहरूको पहुँच सीमित हुन सक्ने भन्दै पश्चिमा व्यावसायिक क्षेत्रमा चिन्ता बढेको छ।
यसअघि गत अप्रिलमा अमेरिकी प्रविधि कम्पनी ‘मेटा’ ले चीनमा स्थापना भई हाल सिङ्गापुरमा सञ्चालित एआई स्टार्टअप ‘मानुस’ लाई अधिग्रहण गर्न खोज्दा चीन सरकारको कडा नीतिका कारण अवरोध सिर्जना भएको थियो।
‘अमेरिका–चीन आर्थिक तथा सुरक्षा समीक्षा आयोग’ ले यस निर्णयलाई चीनले राष्ट्रिय सुरक्षाको आडमा विदेशी लगानीमाथि नियन्त्रण बढाउँदै लगेको दीर्घकालीन रणनीतिको निरन्तरता भएको टिप्पणी गरेको छ।
आयोगले गत मे महिनामै एक प्रतिवेदन सार्वजनिक गर्दै चीनका राष्ट्रिय सुरक्षा कानुनहरूको अपारदर्शी व्याख्या र कार्यान्वयनले चिनियाँ बजारमा कार्यरत विदेशी कम्पनीहरूका लागि कानुनी अनिश्चितता तथा व्यावसायिक जोखिम अझ बढाउने चेतावनी दिएको थियो।