क्यानडा र युरोप पठाइदिन्छु भन्दै ८३ लाख बढी ठगी गर्ने पाँच जना काठमाडौँबाट पक्राउ

काठमाडौँ, १७ असार । विभिन्न मुलुकमा आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका वाङ्दी लामा, रामेछापका ललितबहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रागिरि नगरपालिका–८ का रामदास महर्जन र काठमाडौँ महानगरपालिका–१५ का सरिब गिरी रहेका छन्।

पक्राउ पर्नेहरूमा वाङ्दी लामाले अजरबैजान पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५० हजार रुपैयाँ ठगी गरेको, ललितबहादुर तामाङले कोसोभो पठाइदिने प्रलोभन देखाएर २ लाख ५० हजार रुपैयाँ ठगी गरेको, सन्तोषी लामाले, स्पेन पठाउने बहानामा एक जनाबाट १५ लाख रुपैयाँ ठगी गरेको, रामदास महर्जनले संयुक्त अरब इमिरेट्स (यूएई) को रोजगारीको प्रलोभन दिई सात जना व्यक्तिहरूबाट कुल ४५ लाख रुपैयाँ ठगी गरेको, र सरिब गिरीले क्यानडाको आकर्षक रोजगारीको लोभ देखाएर एक जना पीडितबाट २० लाख रुपैयाँ ठगी गरेको आरोप लागेकाे छ ।

पीडितहरूले दिएको उजुरी र वैदेशिक रोजगार विभागको सिफारिसका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका पाँचै जना अभियुक्तहरूलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *