झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, जीर्ण सौर्य तारबारले सुरक्षामा चुनौती
झापा, १७ असार । झापाको पूर्वी सीमावर्ती क्षेत्र बाहुनडाँगीमा जङ्गली हात्तीको उपद्रो र आतङ्क पुनः बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। हुलका हुल भित्रिने जङ्गली हात्तीले स्थानीयको अन्नबाली नष्ट गर्ने, घर भत्काउने र मानवीय क्षति पुर्याउने गरेका कारण यस क्षेत्रमा सुरक्षा त्रास बढेको हो।
स्थानीय बासिन्दाका अनुसार बाहुनडाँगी क्षेत्रमा हात्तीको आक्रमणबाट विगतमा २९ जना र चालु वर्षमा दुई जना गरी हालसम्म ३१ जनाले ज्यान गुमाइसकेका छन्। भारतीय सीमाबाट भित्रिने जङ्गली हात्तीको बथानलाई रोक्न सरकारले मेची नदीको पश्चिमी किनारमा १७ दशमलव १४ किलोमिटर क्षेत्रमा सौर्य ऊर्जा प्रवाह हुने ‘सोलार फेन्सिङ’ (तारबार) जडान गरेको थियो।
तर, आवश्यक मर्मतसम्भारको अभावमा उक्त सोलार प्यानल हाल जीर्ण अवस्थामा पुगेकाले हात्तीहरू सजिलै बस्ती प्रवेश गर्न थालेको स्थानीय रमेश दाहालले बताउनुभयो। उहाँले बालीनाली नष्ट गर्ने, घर तोडफोड गर्ने र मानिसको ज्यानै लिने जङ्गली हात्तीलाई प्रवेश गर्नबाट रोक्न स्थायी प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभयो।
बाहुनडाँगी गाविसका पूर्वअध्यक्ष नीलकण्ठ तिवारीले जिल्ला प्रशासन कार्यालय झापाले स्थानीयको सुरक्षाका लागि ‘द्रुत प्रतिक्रिया टोली’ (आरआरटी) परिचालन गरेको जानकारी दिनुभयो। यसका साथै, जनपद प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली पनि यस क्षेत्रमा गस्तीका लागि परिचालन गरिएको छ।
यद्यपि, यो प्रयास दीर्घकालीन नभएको भन्दै स्थानीय बासिन्दाले स्थायी समाधान खोज्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रधानमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय झापामा पटक–पटक ज्ञापनपत्र बुझाइसकेका छन्। यस क्षेत्रका नागरिकले विगत ४० वर्षदेखि लगातार हात्तीको आतङ्क र पीडा ब्यहोर्दै आएका छन्।