चुनाव गर्ने या नगर्ने दोधारका दाहालको आलोचना

maitrinews

काठमाडौ। संविधान संशोधन र स्थानीय चुनावको प्रतिबद्धता बोकेर ६ महिनाअघि प्रधानमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहालले ती दुवै कार्य गर्न असफल बनेका छन्। आफ्नै समर्थनमा प्रधानमन्त्री बनेका केपी ओलीलाई हटाएर उनले यी दुई काम गर्ने वाचासहित कांग्रेस र मधेसी मोर्चाको सहयोगमा सत्तारोहण गरेका हुन्।

pushpa-kamal-dahal-prachanda_650x400_81468312367

कांग्रेस सभापति शेरबहादुर देउवासँग ‘नौ महिनाको आलोपालो’ मा सहमत हुदै प्रधानमन्त्री बनेका उनले ६ महिना बितिसक्दा पनि संशोधन विधेयक टुंगो लगाउन नसकेको तथा चुनाव गर्न, नगर्ने भन्नेमा दोधारेपन देखाएको भन्दै दाहालकै दल नेकपा माओवादी केन्द्रभित्र नै आलोचना हुन थालेको समाचार स्रोतको दावी रहेको छ।

क्याविनेटको वैठकवाट जेठ १० गतेभित्र चुनाव सकिने मिति तोक्ने गरी निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेका प्रधानमन्त्री दाहालले एक दिन नवित्दै कुरा फेरिएकोमा माओवादी केन्द्रका सांसद नै छक्क परेका छन्। यता प्रधानमन्त्री दाहालले भने मधेसी मोर्चाको सहमतिबिना चुनाव घोषणा गर्दा राजा ज्ञानेन्द्रले घोषणा गरेको चुनावजस्तै विवादास्पद र असफल हुन सक्ने भन्दै राजनीतिक समझदारी आफ्नो पहिलो प्राथमिकतामा रहेको दोहोर्‍याएका छन् ।

निकटस्थसँग कुरा गर्दै दाहालले आफू चुनावबाट पछि हटेको सन्देश जान नहुने भन्दै छिट्टै संशोधन विधेयक पारित गराउने गरी सहमतिका लागि फेरि प्रयास गर्ने बताए।दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रस्ताव टुंगो नलागेसम्म स्थानीय चुनावको मिति घोषणा नहुने बताए ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा टेबुल भएको संविधान संशोधन विधेयक टुंगो नलागेसम्म चुनावको मिति घोषणा नहुने भन्दै प्रधानमन्त्रीले मधेशी मोर्चाका नेताहरुलाई संशोधन टुंगो लागेपछि मात्रै चुनावको मिति घोषणा गर्ने आश्वस्त पारेको जानकारी दिएका छन्।
प्रकाशन मिति–२०७३ साल माघ २३ गते आइतवार ।