मनाङमर्स्याङ्दीले चुम्यो झापा गोल्डकपको उपाधि

विर्तामोड । मोफसलकै सर्वाधिक पुरस्कार राशिको दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ।
बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा मनाङले आयोजक टोली झापा(११ लाई १(० गोलअन्तरले पाखा लगाउँदै उपाधि चुमेको हो।
जितसँगै मनाङले नगद सात लाख रुपैयाँ पाएको छ।उपविजेता बनेको झापा(११ ले नगद ३ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ। झापा(११ गत बर्ष पनि सोही प्रतियोगितामा उपविजेता बनेको थियो। दुई टोलीबीचको फाइनल खेल अत्यन्तै प्रतिस्पर्धात्मक बनेको थियो। तर झापाले पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा पराजय व्यहोर्नु पर्यो। खेलको पहिलो हाफ भने गोलरहित बराबरी भएको थियो।
यो सिजनकै सशक्त टोली मानिएको मनाङ खेलको सुरुवाती १५ मिनेट निकै आक्रमक बन्यो। खेलको १५ मिनेटपछि लयमा फर्किएको घरेलु टोली झापाले त्यसपछि पहिलो हाफभरि मनाङलाई दबाबमा राख्यो।
दोस्रो हाफमा दुबै टोली झन शसक्त बने। खेलको ६३औँ मिनेटमा मनाङका ओलावालेले गोलको खाता खोले। निराजन मल्लले प्रहार गरेको बल झापाका गोलरक्षकबाट फुत्किएपछि ओलावालेले जाली चुमाएका थिए। त्यही एउटा गोल नै मनाङका लागि निर्णायक बन्यो।
खेल अवधिभर दुबै टोलीले गोल गर्ने सुन्दर अवसरहरु खेर फालेका थिए। खेलको १५औँ मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बूले गरेको हेड पोष्टबाट बाहिरियो। रञ्जित श्रेष्ठको फ्रि(किकमा कर्णले हेडमार्फत गोल गर्न खोजेका थिए। १७ औँ मिनेटमा मनाङका कप्तान सुजल श्रेष्ठको लामो प्रहार बाहिरियो।
१९औँ मिनेटमा मनाङका विदेशी खेलाडी ओलावाले पेनाल्टी भित्रबाट प्रहार गरेको बल झापाका गोलरक्षक एलन न्यौपानेले बचाए। ३२ औँ मिनेटमा झापाका कप्तान कर्णको प्रहार बाहिरिएको थियो। उनलाई सञ्जोग राईले लामो पास मिलाइदिएका थिए।
३९ औँ मिनेटमा झापाका खेलाडी रजिन धिमालको कडा फ्रि(किक मनाङका गोलरक्षक दिनेश थापाले बाहिर ठेलिदिए। ४३ औँ मिनेटमा झापाका लागि विदेशी खेलाडी मार्टिनको प्रहार मनाङका गोलरक्षक थापाले विफल पारे।
दोस्रो हाफको ८औँ मिनेटमा झापाका सञ्जोग राईको पहारले सही दिशा लिन सकेन। १३औँ मिनेटमा मनाङका निराजन मल्लको प्रहार बाहिर गयो।१६ औँ मिनेटमा मनाङका कप्तान सुजलले प्रहार गरेको बल झापाका गोलरक्षक एलन न्यौपाने बिट भइसक्दा पनि पोलमा लागेर फर्कियो।
दोस्रो हाफको २७ औँ मिनेटमा झापाका कर्णले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको बल मनाङका गोलरक्षक दिनेश थापाले समाएका थिए। दोस्रो हाफका ४२ औँ मिनेटमा झापाका रञ्जित श्रेष्ठको प्रहारले सही दिशा लिन नसक्दा झापाले १(१ गोलको बराबरी गर्ने मौका गुमाएको थियो।
खेलमा रेफ्रि लव खत्रीले मनाङका कप्तान सुजल श्रेष्ठ, ओलावाले र सुशील लामालाई पहेँलो कार्ड देखाए। सेमिफाइनलमा मनाङले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई घर फर्काउँदै फाइनलमा आयोजक टोली झापा ११ सँगको भेट पक्का गरेको थियो। हिमालयन शेर्पालाई पन्छाउँदै घरेलु टोली झापा(११ अन्तिम फाइनल पुगेको थियो।
गत वर्षको झापा गोल्डकपको सेमिफाइनलमा भने मनाङ आर्मीसँगै पराजित भएको थियो। यसअघि झापा र मनाङको भेट ६ पटक भएको थियो। जसमा मनाङले ४ र झापाले २ खेल जितेको रेकर्ड छ।
फाइनल खेलको खेलको म्यान अफ द म्याच मनाङका निराजन मल्ल घोषित भए। उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजार रुपैयाँ प्रदान गरे। प्लेयर अफ द टुर्नामेन्ट मनाङका रोहित चन्द घोषित भए। उनले सयपत्री ट्रेड लिङ्क बिर्तामोडका तर्फबाट यामाहाको मोटरसाइकल प्राप्त गरे।
हाइ स्कोरर बनेका झापाका कर्ण लिम्बू र देवेन्द्र तामाङले नगद १५ हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट डिफेन्डर झापा ११ का देवेन्द्र तामाङ घोषित भए।
उनलाई हिकोला हेरिटेजका देविभक्त श्रेष्ठले नगद १५ हजार प्रदान गरे। उत्कृष्ट मिडफिल्डर झापा ११ का रञ्जित श्रेष्ठ घोषित भए।
उनलाई महेन्द्र गुजराज ट्रयाक्टरका तर्फबाट नगद १५ हजार प्रदान गरियो। उत्कृष्ट गोलरक्षक झापा ११ का एलन न्यौपाने घोषित भए। उनलाई पावर टेक मम्प्युटरका तर्फबाट १५ हजार ६ सय बराबरको एन्ड्रोइड मोवाइल प्रदान गरियो। उत्कृष्ट प्रशिक्षक मनाङका छिरिङ लोप्साङ गुरुङ बने।
प्रतियोगितामा एक विदेशीसहित १० टिमको सहभागिता थियो। आयोजक रमपम झापा ११, मनाङ मस्र्याङ्दी क्लब, विभागीय टोलीहरु नेपाल पुलिस क्लब, एपीएफ र त्रिभुवन आर्मी, न्युरोड टिम, हिमालयन शेर्पा क्लब, रुपन्देही ११ फुटबल क्लब, सुदुरपश्चिम फुटवल क्लब र भारतको शेर फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाएका थिए।