शंकारापुर नगरपालिका कायम गराउन साँखु क्षेत्र बन्द, जनजीवन प्रभावित, एक दर्जनभन्दा बढी बन्दकर्ता पक्राउ

काठमाडौँ । शंखरापुर नगरपालिकालाई कागेश्वर–मनोहरा नगरपालिकामा गाभेको भन्दै काठमाडौं साँखु क्षेत्र स्थानीय बासिन्दाले आज बिहानैदेखि बन्द गराएपछि तनाव बढेको छ ।
स्थानीयले बिहान ५ बजेदेखि नै यातायात, कलकारखाना लगायत सञ्चालन हुन नदिएका हुन् । झन्डै एक दर्जन बन्दकर्तालाई प्रहरीले पक्राउ गरेका छन् । स्थानीय नागरिक समाज दबाब समूहका सदस्य नवराज श्रेष्ठले १५ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिनुभयो । बन्दकर्ताले कालो झन्डासहित नाराबाजी, जुलुस जारी राखेका छन् ।
ऐतिहासिक महत्व बोकेको शंखरापुर नगरपालिका नै कायम गर्नुपर्ने स्थानीयको माग छ । आफ्ना माग पूरा गराउन माग गर्दै स्थानीयले केही दिनदेखि वडा कार्यालय, मालपोत कार्यालय लगायतमा तालाबन्दी, धर्ना लगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् ।
त्यस्तै, शंखरापुर नगरपालिका नै कायम गर्नुपर्ने मागसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम लगायतका दललाई उनीहरुले ज्ञापन पत्र पनि बुझाएका छन् ।