न्यायाधीश नियुक्तिको विरोधमा २०० जना वकिलव्दारा राजीनामा

maitrinews

 

काठमाडौँ । २०० जना वकिलहरुले आज सामूहिक राजीनामा दिएका छन् । न्यायाधीश नियुक्तिको विरोधमा दुई नम्बर प्रदेशका करिब २ सय वकिलहरुले नेपाल बार एशोसिएसनबाट सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले बिहीबार नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

नेपाल बार एशोसियसनको कार्यसमितिमा रहेका दुई नम्बर प्रदेशका सबै र अन्य इच्छुकहरु गरी साढे दुई सयभन्दा बढीले सामुहिक राजीनामा बुझाएको न्यायाधीश नियुक्ति संघर्ष समितिका संयोजक सुधीरकुमार कर्णले जानकारी दिनुभयो ।
हालै न्यायपरिषदले गरेको न्यायाधीश नियुक्ति समानुपातिक समावेशी सिद्धान्त विपरीत भएको भन्दै नेपाल बारको आह्वानमा देशभरका सरकारी वकिलहरुले समेत आन्दोलन गरेका थिए । तर आन्दोलनकै क्रममा बारले सर्बोच्च अदालतसँग सम्झौता गरेर धोका दिएको भन्दै दुई नम्बर प्रदेशका वकिलहरु असन्तुष्ट थिए ।

कर्णले भन्नुभयो, ‘हामी आन्दोलनमै भएका बेला नेपाल बारले सर्बोच्च अदालतमा गएर रजिष्ट्रारसँग सम्झौता गर्‍यो । हाम्रो लागि धोका भयो । त्यो धोकापछि बारसँगको सम्बन्ध कायम राखिराख्नुपर्छ भन्ने औचित्य समाप्त भएकाले संयुक्त राजीनामा बुझाएका हौं ।र्’