मधेस प्रदेशमा विनियोजन विधेयकमाथि असार १७ देखि छलफल हुने
जनकपुरधाम, १२ असार । मधेस प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अर्थात् विनियोजन विधेयकमाथि असार १७ गतेदेखि मन्त्रालयगत छलफल सुरु हुने भएको छ।
सभामुख रामअशिष यादवका अनुसार विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल गर्न असार १७ गतेका लागि प्रदेशसभाको बैठक आह्वान गर्ने तयारी गरिएको छ। सो बैठकमा विषयगत मन्त्रालयका बजेट शीर्षकहरूमाथि सांसदहरूले दफावार छलफल गर्नेछन्।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गर्नुभएको यस बजेटमा कृषिमा नवप्रवर्तन, उद्यमशीलता प्रवद्र्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ।
असार १७ गतेदेखि सुरु हुने बैठकमा बजेटमाथिको छलफल सकिएपछि विनियोजन विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ।