३३ किलो सुन काण्डमा पक्राउ परेका प्रहरी बरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री माथि थप अनुसन्धान–फेरि १० दिन म्याद थपियो

maitrinews

काठमाडौ। ३३ किलो सुन काण्डमा पक्राउ परेका नेपाल प्रहरीका उच्च अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री माथि थप अनुसन्धान हुने भएको छ। त्यसको लागि थप १० दिन हिरासतमा नै राखेर अनुसन्धान गर्न काठमाडौ जिल्ला अदालतले विहीवार म्याद थप गरिदिएको छ।

Shyam Bdr Khatriनेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीको हिरासतमा रहेका खत्रीलाई अनुसन्धानका लाथि यस अघि काठमाडौ जिल्ला अदालतले चार दिनको म्याद दिएको थियो। उक्त म्यादमा अनुसन्धान नसकिएको भन्दै थप समय मागेकोले १० दिन म्याद दिएको काठमाडौ जिल्ला अदालतले भनेको छ।

गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा एसएसपी खत्री पक्राउ परेका हुन्। विमानस्थलमार्फत् सुन भित्र्याउन तस्करहरुलाई सघाएको आरोप खत्रीलाई लगाइएको छ। सीआइबीले खत्रीलाई २३ गते प्रहरी मुख्यालय नक्सालबाटै पक्रेको थियो । खत्री सुन तस्करीको समयमा विमानस्थलमा कार्यरत् थिए।

सो घटनालगत्तै खत्रीलाई प्रहरी मुख्यालय तानिएको थियो । प्रहरीले यसअघि विमानस्थल भन्सारमा कार्यरत् तीनजना कर्मचारीलाई पनि पक्रिसकेको छ। गत पुस २१ गते दुबई विमानस्थल हुंदै ल्याइएको ३३ किलो सुनसहित सीआइबीले तीनजनालाई नियन्त्रणमा लिएको थियो।
प्रकाशन मिति–२०७३ साल माघ २७ गते विहीवार ।