मधेसी मोर्चाले नमाने पनि स्थानीय निर्वाचन घोषणा गर्ने तयारी, भोलि मिति घोषणा हुने सम्भावना

काठमाडौँ । मधेसी मोर्चाले नमाने पनि सरकारले भोलि स्थानीय तहको चुनाव घोषणा गर्ने भएको छ । चुनावको मिति भने निर्वाचन आयोगसँग परामर्श गरेर तय गर्दैछ आज विहान बसेको सत्तारुढ कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले संविधान संशोधनपछि मात्र चुनाव घोषणा गर्न मधेसी मोर्चाले गरेको आग्रह अस्वीकार गरेको छ । भोलि नै चुनावको मिति घोषणा गर्ने सहमति भएको छ ।
चुनावको मिति टुंगो लगाउन प्रधानमन्त्रीले निर्वाचन आयोगसँग परामर्श गर्दै छन् । आयोगले दुई चरणमा मतदान गर्ने गरी जेठ १ र २१ को मिति प्रस्ताव गरेको छ । तर, यसलाई अगाडि सार्ने तयारी छ ।
सत्तारुढ कांग्रेसले वैशाखभित्र स्थानीय चुनाव गरिसक्नु पर्ने अडान लिएको छ । स्रोतले भन्यो, ‘पहिलो चरणको वैशाख र दोस्रो जेठको पहिलो साताभित्र गर्न सकिन्छ कि भनेर हामी आयोगसँग छलफल गर्छौं ।’
बालुवाटार बैठकमा चुनावको मिति घोषणा अघि मधेसी मोर्चासँग छलफल गर्ने पनिसहमति भएको छ ।
स्थानीय तहबारे मधेसी मोर्चाले जनाएको असन्तुष्टि सम्बोधन गर्ने तयारी स्वरुप छलफल राखिएको हो । स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकार गर्ने र यसमा केही संख्या थप गरेर अगाडि बढ्ने तयारी छ ।
उता मधेसी मोर्चाले भने संविधान संशोधनअघि चुनाव घोषणा अस्वीकार गर्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।