पहिरोले महाकाली लोकमार्ग अवरुद्ध, दार्चुला–गोकुलेश्वर सडकखण्डमा यातायात ठप्प

दार्चुला, १६ असार । महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा गएराति खसेको पहिरोका कारण सडक यातायात पूर्ण रूपमा ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गएराति सो क्षेत्रमा परेको अविरल वर्षापछि सडकमाथिबाट पहिरो खस्दा यातायात सेवा बन्द भएको हो। सडक अवरुद्ध भएपछि दार्चुलाबाट बाहिरिने र भित्रिने छोटो तथा लामो दूरीका दर्जनौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरू बीच बाटोमै अलपत्र परेका छन्।

प्रहरीले स्थानीय निकाय र सडक विभागसँगको समन्वयमा डोजर तथा जेसिबी प्रयोग गरी सडकको पहिरो पन्छाएर यातायात सुचारु गराउने प्रयास भइरहेको जनाएको छ। यद्यपि, सो क्षेत्रमा वर्षा निरन्तर भइरहेकाले पहिरो खस्ने जोखिम कायमै रहेकाले जोखिमयुक्त क्षेत्रहरूमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ।