काभ्रेमा बर्डफ्लुको प्रकोप : नियन्त्रणका लागि ४० हजारभन्दा बढी पक्षी नष्ट

काठमाडौँ, असार १६ ।  काभ्रेपलाञ्चोक जिल्लामा बर्डफ्लु सङ्क्रमण फैलिएपछि हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । जिल्लाका विभिन्न व्यावसायिक पोल्ट्री फार्ममा विगत केही हप्तादेखि पक्षीहरू धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार हालसम्म ४० हजार ७२९ वटा हाँस र लेयर्स जातका कुखुरा नष्ट गरिएको छ । कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरले बनेपा नगरपालिकाको वडा नं ६ र १३, तथा पनौती नगरपालिकाको वडा नं ७, ८ र ९ मा रहेका फार्महरूमा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

पक्षीहरू मरेपछि जथाभावी खोला, झाडी वा खुला स्थानमा फाल्ने गरेका कारण जङ्गली चरा र कागमार्फत सङ्क्रमण थप विस्तार भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । डा. ठाकुरले भन्नुभयो, ‘प्रयोगशाला परीक्षणको नतिजा प्राप्त हुन ढिलाइ हुँदा प्रदेश र स्थानीय तहले समयमै प्रतिकार्यका कदम चाल्न सकेनन्, जसले गर्दा सङ्क्रमणदर बढ्न पुग्यो ।’

सङ्क्रमण नियन्त्रणका लागि हाल जिल्लाका नाला, रोशी र खावा चेकपोस्टमा पक्षीहरूको ओसारपसारमा कडा निगरानी र परीक्षण सुरु गरिएको छ । पशु सेवा कार्यालयले व्यावसायिक पोल्ट्री फार्महरूलाई जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड कडाइका साथ लागू गर्न निर्देशन दिएको छ । खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, सरसफाइमा ध्यान दिन र उपकरणहरू नियमित निसङ्क्रमण गर्न किसानहरूलाई आग्रह गरिएको छ ।

यसअघि गत चैत महिनामा काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लुको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउने निर्णय गरिएको थियो । देशका विभिन्न स्थानमा सङ्क्रमण देखिएसँगै यी दुई जिल्लालाई उच्च जोखिमको सूचीमा राखी निगरानी बढाइएको थियो । प्रशासनले अवैध रूपमा हुने पक्षीको ओसारपसार रोक्न सुरक्षा निकायलाई समेत परिचालन गरेको छ ।