अनिश्चितकालका लागि इन्धनको आपूर्ति ठप्प पार्ने चेतावनी–काठमाडौमा पेट्रोलको हाहाकार

काठमाडौ। नेपाल आयल निगमले हालै कार्यान्वयनमा ल्याएको ढुवानी विनियावली २०७३ को ढुवानी ट्यांकर व्यवसायीहरुले चर्को विरोध गरेका छन्।
त्यस विनियावली ‘आफूहरु’ को हितमा नभएको भन्दै ट्यांकर क्षेत्र केन्द्रीय समन्वय समितिले अनिश्चितकालका लागि इन्धनको आपूर्ति ठप्प पार्ने चेतावनी दिएको छ ।
निगमले गत पुसदेखि कार्यान्वयनमा ल्याएको उक्त विनियावलीमा आफूहरुर्ला बेरोजगार बनाउने व्यवस्था गरिएको भन्दै उक्त समितिले मजदुरको रोजगारीमा प्रत्यक्ष प्रभाव पार्ने खालका प्रावधान विनियावलीबाट तत्काल हटाउनुपर्ने माग अघि सारेका छन् ।
वार्ता र सम्वादको माध्यमबाट निगमले यही फागुन १४ गतेभित्रमा मजदुरको रोजगारीसम्बन्धी व्यवस्था नहटाए आगामी १५ गतेदेखि भारत र नेपालको डिपोमा हुने इन्धनको सम्पूर्ण लोड र अनलोड प्रक्रिया अनिश्चितकालका लागि ठप्प पार्ने समितिले चेतावनी दिएका छन्।
समितिले शुक्रबार नै नेपालको सम्पूर्ण डिपोमा लोड र अनलोडसम्बन्धी काम ठप्प गरी सांकेतिक आन्दोलन (टोकन स्ट्राइक) गरिसकेका छन् । ट्यांकर चालक र मजदुरहरुले गरेको उक्त दिनको आन्दोलनका कारण निगमले गत बिहीबार र शुक्रबार भारतबाट भित्र्याएको इन्धन शुक्रबार कुनै पनि पेट्रोल पम्पमा पुग्न सकेन्।
जसका कारण उपत्यकासहित देशभरका पेट्रोल पम्पमा आइतबार साँझसम्म इन्धनको चर्को हाहाकार भएको छ । समितिका संयोजक अर्जुन अर्यालका अनुसार निगमले हालै कार्यान्वयनमा ल्याएको विनियावलीमा एक जनाले पाँच वटाभन्दा कम संख्यामा इन्धन ट्यांकर राख्न नपाउने व्यवस्था गरिएको छ ।
पुरानो विनियावलीमा एक जनाले एक ट्यांकर राख्न पाउने व्यवस्था छ ।
प्रकाशन मिति–२०७३ साल फागुन ८ गते आइतवार।