कार्यक्रम विथोल्न खोज्ने अराष्ट्रीय तत्व एकजनाको मृत्यु, एमालेका कार्यक्रम तीन दिनलाई स्थगित

maitrinews

 

राजविराज, २३ फागुन । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा आज यहाँ एक युवकको मृत्यु भएको छ भने अन्य १२ जना घाईते भएका छन् ।

नेकपा ९एमाले०को मेची महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्न्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आज आयोजना गरिएको आमसभालाई विथोल्न पुगेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा सो घटना हुन पुगेको हो ।

सभा विथोल्न पुगेका मार्चाका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट सप्तरी मलेखका रञ्जन मेहताको मृत्यु भएको मधेसी मार्चाका स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभालाई सम्बोधन गर्दै गर्दा एक्कासी मार्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा मोर्चाका छ जना कार्यकर्ता घाइते भएका छन् ।

यसअघि आजै अध्यक्ष ओली कार्यक्रमस्थल पुग्नुअगावै पनि उक्त स्थानमा झडप हुँदा मोर्चाका छ जना कार्यकर्ता घाइते भएका थिए ।घाइते सबैको सगरमाथा अस्पताल सराजविराजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।एमालेको आमसभालाई बिथोल्नका लागि मोर्चाका नेता तथा कार्याकर्ता जिल्लाको विभिन्न स्थानमा आज बिहानैदेखि टायर बालेर कालो झन्डासहित लाठी जुलुुस निकालेर प्रदर्शन गरिरहेका छन् । यहाँ आज भएको हिंसात्मक घटनापछि नेकपा (एमाले) को मेची–महाकाली अभियान तीन दिनका लागि स्थगन भएको छ ।

सो घटनापछि यहाँ आज स्थायी कमिटीको आकस्मिक बैठकले स्थितिको संवेदनशीलता र सरकारलगायत विभिन्न पक्षको आग्रहलाई ध्यानमा राख्दै तीन दिनका लागि अभियान सार्ने निर्णय गरेको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । यही फागुन २४, २५ र २६ गते तीन दिन स्थगनपछि फागुन २७ गतेदेखि अभियान पूर्ववत् सञ्चालन हुनेछ । एमालेको पूर्वघोषित अभियानअन्तर्गत आज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधबीच जनसभा सकिएपछि नेताहरु फर्कने क्रममा हिंसात्मक घटना भएको थियो ।

मेची–महाकाली राष्ट्रिय अभियान प्रभावकारी र शान्तिपूर्ण ढङ्गले अगाडि बढिरहेको र लाखौँ जनता उत्साहपूर्वक सहभागी भइरहेकामा आजको घटनाबाट पार्टी दुःखी भएको जनाउँदै एमालेले आज जारी गरेको विज्ञप्तिमा कार्यक्रममा सहभागी हुन हिँडेका सर्वसाधारणमाथि साङ्घातिक आक्रमण गर्ने, कार्यक्रमस्थल नजिकै विस्फोटक पदार्थ बिछ्याउने र संयमतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीमाथि ढुङ्गामुढा, पेट्रोल बम प्रहार गर्नेजस्ता काम गरेर मधेसी मोर्चाका कार्यकर्ताले हिंसात्मक गतिविधि प्रदर्शन गरेको आरोप लगाइएको छ ।

यही फागुन २१ गतेदेखि झापाको काँकडभिट्टाबाट सुरु भएको संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो १५ दिने अभियानअन्तर्गत मङ्गलबार सिरहा र जनकपुरमा कार्यक्रम तय गरिएको थियो ।