दुई कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ, २३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा आज बाराका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा बिगोदाबीसहित मुद्दा दायर गरेको छ ।
आयोगले जिविस बाराका सूचना तथा सामाजिक विकास अधिकृत भरतप्रसाद यादव र बारा कर्चोवा गाविस कार्यालयका सचिव जयपतप्रसाद यादवविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता जीवराज कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सुरक्षा भत्तामा खर्च गर्नुपर्ने सरकारी रकम मिलोमतोमा हिनामिना गरेको आरोपमा भरतप्रसादलाई रु छ लाख पैँतालिस हजार एक सय ५० भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार जरिवाना र कैद सजाय गर्ने उल्लेख छ ।
त्यस्तै सचिव जयपतप्रसादसँग रु आठ लाख छयानब्बे हजार बिगोदाबी गरिएको छ । अभियुक्त सचिवको २०७१ माघ १० गते. मृत्यु भइसकेकाले निजका हकदारबाट बिगो भराउनुपर्ने माग गरिएको छ । रासस