सप्तरी घटनाबारे एमालेको विशेष पत्रकार सम्मेलन हुँदै

 

काठमाडौं । सप्तरी घटनापछि तीन दिनका लागि मेची–महाकाली राष्ट्रिय अभियान स्थगित गरेको नेकपा एमालेले आज काठमाडौंका विशेष पत्रकार सम्मेलन बोलाएको छ । पत्रकार सम्मेलन अपरान्ह ३ बजे पार्टी मुख्यालय धुम्वाराहीमा हुनेछ ।
मोर्चाले सप्तरी घटनामा एमालेलाई जिम्मेवार ठहराएपछि एमालेले आफ्नो पार्टीको धारणा व्यक्त गर्न विशेष पत्रकार सम्मेलन गर्न लागेको हो ।
‘फागुन २१ गतेबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा हिजो सप्तरीको राजविराजमा मधेसी मोर्चाका नाममा निम्त्याइएको अलोकतान्त्रिक, विध्वांसात्मक र दुःखद घटना, त्यसपछि विकसित परिस्थिति र त्यसका बारेमा पार्टीको धारणा स्पष्ट गर्न विशेष पत्रकार सम्मेलन आयोजना गरिएकाले उपस्थितिका लागि हार्दिक अनुरोध छ,’ एमालेको प्रचार विभागले जनाएको छ ।

फागुन २४ गते ।