नेपालीको टेलिफोन कुराकानी(हाइ हेलोे) खर्च ८४ अर्ब रुपियाँ

 
काठमाडौ । नेपालीले टेलिफोनमा कुराकानी गर्न मात्रै वार्षिक ८४ अर्ब रुपैयाँ खर्च गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालीको टेलिफोनमा गर्ने कुराकानी ९भ्वाइस० मा भएको यो खर्चको सबैभन्दा ठूलो हिस्सा एनसेल र नेपाल दूरसञ्चार कम्पनी ९नेपाल टेलिकम० को छ।
भ्वाइसमा ठूलो रकम एनसेलका ग्राहकले खर्च गरेका छन् । एनसेलले आर्थिक वर्ष ०७२र७३ मा गरेको कुल ५५ अर्ब ४२ करोडको आम्दानीमा ४७ अर्ब ३९ करोड रुपैयाँ भ्वाइस सेवाबाट मात्रै आर्जन गरेको छ । नेपाल टेलिकमले पनि यो वर्ष गरेको ३९ अर्ब ६८ करोड रुपैयाँको आम्दानीमा भ्वाइस सेवाबाट मात्रै ३४ अर्ब ९८ करोड रुपैयाँ कमाएको छ ।
दूरसञ्चार सेवाका प्रमुख प्रतिस्पर्धी टेलिकम र एनसेलको प्रमुख बजार छ । यी दुई कम्पनीको सेवा प्रयोग गरी टेलिफोनमा हुने खर्च मात्रै वार्षिक ८२ अर्ब ३७ करोड रुपैयाँ छ । भ्वाइस सेवाको कुल ८४ अर्ब ३१ करोड रुपैयाँको बजारमा अन्य सेवाप्रदायकको हिस्सा भने एक अर्ब ९४ करोड रुपैयाँ मात्रै छ ।
दूरसञ्चार सेवाप्रदायकमा एनसेल र टेलिकम, युटिएल, स्मार्ट टेलिकम, एसटिएम टेलिकम र नेपाल स्याटलाइट छन् । प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति दिएका यी ६ वटा कम्पनीको टेलिफोन तथा सिमकार्ड वितरण गरेको आधारमा ग्राहक संख्या भने ३ करोड ३० लाख छ । यो संख्यामा मोबाइल सेवाका ग्राहक मात्रै ३ करोड १३ लाख छन् ।
पछिल्लो समय मोबाइल सेवाको प्रयोग बढेको र नेपालीको खर्च पनि मोबाइलकै कारण टेलिफोनमा बढिरहेको छ । दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार नेपालमा यो क्षेत्रबाट हुने वार्षिक आम्दानीको आकार करिब १ खर्ब रुपैयाँको छ ।
यो रकममा सबैभन्दा ठूलो हिस्सा भ्वाइसकै छ । अन्तर्राष्ट्रिय प्रचलन भने भ्वाइसभन्दा इन्टरनेट प्रयोगकर्ता बढी हुन्छन् । विकसित मुलुकमा धेरै सेवा इन्टरनेटका माध्यमबाट हुने भएकाले पनि डाटामा बढी खर्च गर्छन् । नेपालमा डाटा प्रयोगकर्ता विस्तारै बढ्न थाले पनि अझै भ्वाइसकै बजार हिस्सा प्रमुख छ । इ–गभर्नेन्सको प्रयोग बढ्ने, सबै सेवा इन्टरनेटबाटै हुने र सेवाप्रदायकले डाटाकै माध्यमबाट विश्वास जित्न सक्दैनन् तबसम्म भ्वाइसको डोमिनेट रहने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणबाट ६५ वटा इन्टरनेट सेवाप्रदायकले अनुमति पाएका भए पनि ग्रामीण दूरसञ्चार कोषमा बुझाएको रकमका आधारमा हेर्दा ३७ वटा आइएसपी मात्रै सक्रिय छन् । यी सेवाप्रदायकका लागि नेपालीले एक वर्षमा २ अर्ब २९ करोड रुपैयाँ खर्च गरेका छन् । ३७ वटा सेवाप्रदायकले इन्टरनेट सेवा दिएबापत यो आम्दानी गरेका हुन् ।
डाटा सेवामा युटिएलका लागि पनि नेपालीले ४ लाख ८७ हजार रुपैयाँ खर्चिएको पाइएको छ । हाल डाटा सेवाको प्रयोगकर्ता १ करोड ४४ लाख रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताको पहुँच ५४ प्रतिशतमा पुगेको छ । प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार डाटाको बजार बढ्दै गए पनि भ्वाइसको तुलनामा गति भने सुस्त नै छ ।