अन्तर्राष्ट्रिय नारी दिवसमा विशेष सांस्कृतिक कार्यक्रम

 

काठमाडौँ, २६ फागुन । एकसय सातौँँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपालका लागि चिनियाँ राजदूत यू होङले आज यहाँ विशेष सांस्कृतिक कार्यक्रमसहित स्वागत समारोहको आयोजना गर्नुभयो ।

सभामुख ओनसरी घर्ती र नेपालका लागि चिनियाँ राजदूत यू होङले संयुक्त रुपमा सो सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्नुभयो ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत होङले नेपालमा राज्यको प्रमुख तह राष्ट्रपति, प्रधानन्यायाधीश र समाभुखसहित संसद्मा ३० प्रतिशत महिला हुनु नेपाललाई मात्र नभएर विश्वलाई नै राम्रो नमुना प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले लैङ्गिक समानता चीनको नीति नै भएको र नेपाली महिलाको क्षमता वृद्धि गर्न चीन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

राजदूत होङले आगामी पाँच वर्षका लागि ‘१०० स्वास्थ्य कार्यक्रम’ विकासोन्मुख राष्ट्रमा गर्न लागेको, नेपाल–चीनबीच मैत्रीपूर्ण सम्बन्ध रहेको र आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने बताउनुभयो ।

समारोहमा चिनियाँ दूतावासका कर्मचारीले नेपाली तथा चिनियाँ गीत र नृत्य प्रस्तुत गरेका थिए । समारोहमा राजनीतिज्ञ, पत्रकार र विभिन्न पेसासंग आवद्ध महिलाको सहभागिता थियो ।