म्याजिक चप्पल कारखानामा भीषण आगलागी, प्लान्ट नष्ट, करोडौँको क्षति

विराटनगर । मोरङको टंकीसिनवारी स्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ । विद्युत ट्रान्सफर पड्किएर आगलागी भएको बताइएको छ । चार घन्टादेखि लगातार भईरहेको आगलागीबाट करोडौ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिीक अनुमान गरिएको छ ।

आज बिहान ४ बजेतिरबाट सुरु भएको आगलागी अझै काबु बाहिर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आगलागी नियन्त्रणमा लिन विराटनगर, सुनसरीको इटहरी, इनरुवा र धरान, सप्तरीको राजविराज, सिराहको लहानबाट पनि दमकल आएका छन् । टंकीसिनवारीमा ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।आगो नियन्त्रणमा लिन स्थानीयवासीले पनि सहयोग गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्दीप भण्डारीले के भएर आगलागी भएको हो भन्ने अनुसन्धान हुन बाँकी रहेको जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना आफै खटिएर आगो निभाउने प्रयास भईरहेको जानकारी दिदै भण्डारीले भने,‘आगो थप बढ्न रोकेका छौं, अब केही समयपछि नै नियन्त्रणमा आउने छ ।ु आगो निभाउन दशवटा दमकल परिचालन गरिएको भण्डारीले बताए ।
आगलागीबाट कारखानाको प्लान्ट जलेर नष्ट भएको छ । बगडिया समूहले सञ्चालन गरेको उद्योगको म्याजिक ब्रान्डको चप्पल र जुत्ता पछिल्लो समय नेपाली बजारमा निकै लोकप्रीय बनेको छ । म्याजिकले पूर्वाञ्चलको उत्पादनलाई देशव्यापी बनाई सकेको छ । म्याजिकले स्कुल तथा कलेजका विद्यार्थीलाई लक्षित गरेर निकालेको स्कुल सु निकै लोकप्रीय छ ।