यूपीमा विजेपीको जस्तै माहोल नेपालमा एमालेको हुँदैछ, आगामी निर्वाचनपछि कांग्रेस हाफ माओवादी साफ बन्छ —महेश बस्नेत ,एमाले नेता एवं पूर्व मन्त्री

महेश बस्नेत युवा संघका पूर्व अध्यक्ष हुनुहुन्छ । पूर्व मन्त्री समेत रहनु भएका बस्नेत अहिलेको नेकपा माओवादी केन्द्रले वितण्डा मच्याइरहेका बेला युथफोर्स प्रमुख हुनुहुन्थ्यो । त्यसबेला युथफोर्सकै कारण माओवादी साइजमा आएको भन्ने धेरैको बुझाई पनि थियो । अहिले फेरि मधेसमा मधेसी मोर्चाका नाममा जुन खालका वितण्डाहरु भैरहेका छन् । त्यसलाई साइजमा ल्याउन उहाँले मधेसफोर्स गठन गर्नुपर्ने माग अघि सार्नु भएको छ । उहाँसँग पछिल्लो राजनीति, मधेसी मोर्चाका पछिल्ला हर्कतलगायतका बारेमा मैत्री न्युज डटकमले गरेको कुराकानीः
माओवादीलाई ठिक लगाउनु युथफोर्स गठन गरिएको थियो । अब मधेसी मोर्चालाई ठिक लगाउन मधेसफोर्स गठन गर्नुपर्छ भन्नेर तपाईँले केही दिन अघि एक औपचारिक कार्यक्रममै भन्नुभएको थियो । के त्यो आवश्यक भएको हो ?
नेपालको राजनीतिक आन्दोलनमा निकै ठूलो संघर्ष गरेका राजनीतिक दलहरु अहिले छन् । नेकपा (एमाले)को सन्दर्भमा कुरा गर्ने हो भने नेपालको लोकतान्त्रिक आन्दोलनमा स्थापना कालदेखि नै योगदान गर्दै आएको छ । नेपालमा पञ्चाययी व्यवस्थाको अन्त्य गर्न, प्रजातन्त्र स्थापना गर्न र त्यसपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न एमालेका महत्वपूर्ण भूमिका रहेको छ ।
तर, अहिले त्यही दललाई मधेसमा बहिष्कार गर्नुपर्छ । एमालेका नेता–कार्यकर्ताहरुलाई लखेट्नुपर्छ । उनीहरुलाई अपमानित ढंगले कालोमोसो दल्नेलगायतका हर्कत गर्नुपर्छ भन्ने जस्ता गलत क्रियाकलाप मधेसमा मधेसी मोर्चाका नाममा व्याप्त भएका छन् ।
आफूलाई मधेसको रैथाने ठान्ने ती दलले एमालेका नेता–कार्यकर्ताको घर, गाडी तोडफोड गर्ने, एमालेको कार्यालयमा आगो लगाउने, झण्डा जलाउने जस्ता हर्कतहरु गरेको पनि घाम जस्तै छर्लङ्ग छ । यस्तो हर्कत गर्ने छुट उनीहरुलाई दिनुहुँदैन भन्ने मेरो मान्यता हो ।
भनेपछि आवश्यक पर्यो भने मुठभेड नै पनि गर्नुपर्छ भन्ने तपाईँको आसय हो ?
नेपालमा बेला–बेलामा अधिनायकवादी तत्वहरुले दुःख दिने गरेका छन् । अहिले मधेसी मोर्चाका आडमा तराई–मधेसमा गोइत, ज्वाला सिंह, सिके राउत जस्ता व्यक्तिहरुले देशलाई नै विखण्डन गर्नेसम्मको हर्कत गर्ने र त्यस्ता अभिव्यक्तिहरु पनि दिने गरेका छन् । मधेसमा आतंक फैलाउने काम पनि अहिले तिव्ररुपमा भैरहेका छन् । यस्तो अवस्थालाई खुलेआम छाड्नु हुँदैन । आवश्यक पर्यो भने प्रतिकारसम्म पनि गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।
कुनै समय अहिलेको नेकपा माओवादी केन्द्र बन्दुकको नालबाट सत्ता कब्जा गर्ने नीति बोकेर हिडेको थियो । उसका ती उदण्ड शैलीका कारण आम नेपाली जनता त्राहि–त्राहि भएका थिए । एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरु दिनहुँ जसरी उनीहरुको आक्रमणका शिकार हुन्थे । अझ एमालेका कार्यकर्तालाई त उनीहरुले खोजी–खोजी आक्रमण गर्ने, डर–धम्की दिने जस्ता हर्कत गरेका थिए । तर, जब जनस्तरबाट प्रतिकार सुरु भयो । त्यसपछि उनीहरु ठेगानमा आए । त्यसबेला उनीहरुमाथिको प्रतिकार एमालेको भ्रातृ संगठनको युथफोर्सले सुरु गरेको थियो । त्यसको प्रमुख म थिएँ । अहिले पनि त्यस्तै खाले हर्कत मधेसी मोर्चाका नाममा भएको छ । त्यसलाई ठेगान लगाउन पनि जनस्तरबाटै प्रतिकार सुरु गर्नुपर्छ भन्ने मेरो मान्यता हो । कुनै अवस्थामा सरकारले बल प्रयोगसम्म गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।
अहिले विदेशको पैसा खाएर मोर्चाले मधेसमा आन्दोलन गरेको हो भन्ने पनि आरोप छ नि ?
आरोप मात्रै होइन, त्यो सत्य हो । उनीहरुले विदेशीको पैसा खाएर मधेसमा आन्दोलन होइन वितण्डा मच्याइ रहेका छन् । देश विखण्डन गर्नेसम्मको धम्की दिइरहेका छन् । यो सबै विदेशीको पैसामा, विदेशीको डिजाइनमा भएको हो । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका प्रमुख भनिएका महन्थ ठाकुर जस्ता व्यक्तिले राष्ट्रपतिका सामू शीतल निवासमै आवश्यक पर्यो भने पहाडबाट मधेस अलग गर्न सक्छौँ भनेर भन्ने आँट किन गर्न सक्छन् ? यो सबै विदेशीकै पैसामा भैरहेको छ । यसरी देश नै विखण्डन गर्छु भन्दै हिड्नेहरुलाई राज्यले छुट दिनुहुँदैन । राष्ट्रवादी नेपाली जनताले पनि छुट दिनुहुँदैन ।
भनेपछि उनीहरुलाई तह लगाउन मधेसीफोर्स नै चाहियो भन्ने तपाईँको मान्यता हो ?
हो, मधेसीफोर्स मैले पहाडबाट लैजाने भनेको छैन । अहिले उनीहरुलाई फोर्स भनेको पहाडबाटै झार्ने हो । यो देश पहाडिया बाहुनहरुले चलाएका छन् भन्ने भ्रम छ । त्यति मात्र होइन । साउनमा आखाँ फुटेको गोरु जहिले पनि हरियो देख्छ भने झैँ उनीहरुले तराई–मधेसमा सबै मधेसी मोर्चा मात्र छन् भन्ने भ्रम पालेका छन् । त्यसैले पनि उनीहरुलाई फोर्स आउँदा पहाडबाट आउँछ भन्ने छ । त्यो होइन, फोर्स तराईकै जनताको संलग्नतामा निर्माण गर्ने हो ।
अझ एमालेमा त मधेसका कोही पनि जनता छैनन् भन्ने भ्रम उनीहरुमा छ । त्यो भ्रम चिर्नका लागि पनि फोर्स निर्माण आवश्यक छ । म अहिले पनि भन्न चाहन्छु । एमालेले चाहेको खण्डमा मधेसमै, मधेसकै युवा खोजेर फोर्स निर्माण गरेर त्यस्ता तत्वहरुलाई तह लगाउने हैसियत राख्छ ।
यस्तो गर्दा त तराई झन् अशान्त बन्ला नि ?
म एउटा सानो उदाहरण दिऔँ । अहिले कतिपय तराई–मधेसका स्थानमा मोर्चाका उदण्ड नेता–कार्यकर्ताले नेपाल सरकार लेखेका बोर्ड च्यातेर मधेस सरकार भनेर लेखेका छन् । उनीहरुलाई यस्तो हर्कत गर्ने छुट दिन मिल्छ ? उनीहरुले कि यो संविधान मान्दैनौँ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति हाम्रो कुनै सहमति छैन भन्नु पर्यो । त्यो हो भने सरकारले पनि त्यही खालको कदम अघि बढाउनु पर्यो । होइन भने नेपालको नागरिक भन्ने अनि विदेशीको दलाली गर्ने छुट कसैलाई पनि छैन । अहिले नेपालका गृहमन्त्री विमलेन्द्र निधिले नै घुसपैठ गरेका छन् । तराई–मधेसमा अशान्त बनाउनुमा उनको पनि भूमिका रहेको छ । यो कुरा एमालेलाई मान्य छैन । हामीले यही भन्दै आएका छौँ । पछिल्लो समय एमालेको राष्ट्रवादी अडानले पनि ती सबै हर्कतलाई अस्वीकार गरेको छ भन्ने छर्लङ्ग पारेको छ ।
एमालेले पछिल्लो समय लिएका राष्ट्रवादी अडानका कारण एमालेमा निकै राम्रो माहोल सिर्जना भयो भन्ने चर्चा चलेको छ । अझ त्यसमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियताप्रतिको अडानले एमाले आगामी निर्वाचनमा बहुमतसहितको ठूलो पार्टी बन्छ भन्ने चर्चा पनि छ । त्यो सम्भव छ ?
राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा एमालेले जुन भूमिका खेलेको छ । त्यसको जनस्तरबाट निकै ठूलो प्रशंसाा भएको छ । अहिले एमाले आगामी निर्वाचनमा एमाले दुईतिहाई सहितको ठूलो पार्टी बन्छ भन्ने डरका कारण कांग्रेस, माओवादीलगायतका पार्टीले निर्वाचन नै हुन नदिने हुन् कि भन्ने डर पनि एमालेलाई लागेको छ । मैले भन्ने गरेको छु । आगामी निर्वाचनमा नेपाली कांग्रेस हाफ र माओवादी साफ हुनेछ । त्यो सम्भावना अहिले बढेको छ । छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा केही हप्ता अघि मात्र सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टीले जुन खालको परिणाम ल्यायो । नेपालमा पनि एमालेका पक्षमा त्यस्तै परिणाम आउने सम्भावना कांग्रेस–माओवादीले देखेकै कारण उनीहरु निर्वाचनमा जान डराई रहेका छन् ।
एमालेले मेची–महाकाली राष्ट्रिय अभियान धुमधामसँग सम्पन्न गर्यो । तराई–मधेसका विभिन्न जिल्लामा कार्यक्रम भव्य भए पनि प्रदेश नम्बर दुईबाट भने एमाले व्याक हट्नु पर्यो भन्ने चर्चा छ नि ?
अहिले कतिपय मान्छेले एमाले प्रदेश नम्बर दुईबाट डराएर भाग्यो प्रदेश नम्बर दुईमा एमालेको कुनै शक्ति नै रहेनछ भनेर हल्ला गरिरहेका छन् । ती सबै हल्लाका पछि कुनै तुक छैन । ती वेतुकका तर्क हुन् । एमाले जिम्मेवार राजनीतिक शक्ति हो । एमालेको अभियानका क्रममा केही अराजक व्यक्तिहरुले गरेका हर्कतका कारण मुठभेडमा जानु हुँदैन भनेर केही दिनका लागि एमालेले प्रदेश नम्बर दुईका सबै कार्यक्रम स्थगन गरेको हो । अब फेरि एमाले प्रदेश नम्बर दुईमा जान्छ । धुमधामसँग कार्यक्रम गर्छ । एमाले मधेसमा राम्रै शक्ति प्रदर्शन गर्न सक्षम छ भन्ने सन्देश हामी दिन्छौँ ।
त्यो बेलामा मधेसी दलका साथीहरुले अनावश्यक हस्तक्षेप गर्ने हर्कत नगरुन । त्यो बेला एमालेले प्रतिकार गर्ने अवस्था आयो भने त्यसको परिणामा नराम्रो पनि हुन सक्छ । आम मधेसका जनता उनीहरुको प्रतिकारमा लाग्नेछन् । त्यो कुराको पनि हेक्का उनीहरुलाई होस भन्ने मेरो आग्रह वा सुझाव छ ।
एमाले मधेसमा निकै कमजोर–कमजोर बन्दै गएको छ भन्ने चर्चा चलिरहेका बेला तपाईँहरुले अभियान सञ्चालन गर्नुभयो । के एमाले मधेसमा त्यस्तै कमजोर रहेछ ?
ती सबै भ्रमहरु हुन् । केपी ओली नेतृत्वको सरकाले सबै भन्दा बढी बजेट मधेसका लागि दिएको थियो । विकासको सपना मधेसी जनताले देख्न सक्ने आधार एमाले नेतृत्वकै सरकारले गरेको थियो । यी सबै कारणले पनि एमाले अहिले मधेसका जनताका बीचमा झन्–झन् लोकप्रिय बनेको छ ।
अहिले संविधान संशोधनको एजेण्डा ल्याएर ०७४ माघ भित्रमा तीन चरणका निर्वाचन सम्पन्न गर्ने र संविधान कार्यान्वय गर्ने कुरालाई अवरोध गर्न विना मौसमको वाजा बजाउने काम भएको छ । यो गलत छ । अहिले सरकारले गर्नुपर्ने भनेको निर्वाचनको तयारी, निर्वाचनको घोषणा र निर्वाचनका लागि आवश्यक ऐन–कानुन निर्माण हो । तर, अहिले सरकारले त्यसो गरिरहेको छैन । बरु उसले संविधान संशोधनको विषय उठाएर वेमौसमको बाजा बजाइरहेको छ । त्यति मात्र होइन अहिले मधेसका रैथानेलाई तल बनाएर अंगीकृतवालालाई बढवा दिने, पहाडबाटै तराई अलग गर्ने र अन्त्यमा दुई राष्ट्र बनाउने भित्री मनसायसहित सीमांकन हेरफेर गर्ने जस्ता असंवैधानिक कुरालाई समावेश गरेर संविधान संशोधनको नाटक गरिएको छ । यो कुनै हालतमा पनि एमालेले स्वीकार गर्दैन । सरकारको यो नियत संविधान कार्यान्वयन होइन संविधानलाई असफल बनाउका लागि केन्द्रित छ । यसलाई तुरुन्त फिर्ता लिएर निर्वाचनमा मात्रै ध्यान केन्द्रित गर्नुपर्छ । अहिलेको आवश्यकता पनि यही हो ।