मकवानपुरमा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान, ६ सय केजीभन्दा बढी गाँजाचरेस बरामद

मकवानपुर । मकवानपुरको मनहरीमा आज गाँजा तस्कर र प्रहरीबीच फायरिङ भएको छ । फायरिङमा हताहती भने भएको छैन ।
मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका(६ नयाँबस्तीमा प्रहरी र गाँजा तस्करबीच बिहान २ बजे फायरिङ भएको हो । प्रहरीले १९ रावण्ड हवाई फायर गरेको थियो । गाँजा तस्करहरुले ५, ६ रावण्ड फायर गरेको प्रहरीले जनाएको छ । तस्करहरुले काकडा र सरिखेत हुँदै मनहरीको नयाँबस्तीको नाकाबाट भारततर्फ गाँजा बोकेर लाँदैछन् भन्ने जानकारी पाएपछि प्रहरी राजमार्ग छेउको नयाँबस्तीमा ढुकेर बसेको थियो । प्रहरीलाई देख्नेबित्तिक्कै अगाडि रहेका तस्कररुहरुले प्रहरीलाई लक्षित गरेर फायरिङ गर्दै जंगलभित्र पसेका थिए ।
गाँजा तस्करहरुले गाँजा बोकेर पर्सा वन्यजन्तु आरक्ष हुँदै भारततर्फ लगिरहेको अवस्थामा प्रहरी देख्नेबित्तिकै प्रहरीतर्फ फायरिङ गरेर तस्करहरु भागेका थिए । प्रहरीले जवाफी फायरिङ गरेपछि भरियाहरुले गाँजा र चरेसको बोरा छाडेर भागेका थिए । प्रहरीले ५ सय ६४ केजी गाँजा र ४५ केजी चरेस बरामद गर्नुको साथै चारजना भरियाहरु नियन्त्रणमा लिएको छ । करिब ३०, ३५ जनाको समूहमा आएका भरियाहरुले गाँजा बोकेका थिए । तीमध्ये बाटो देखाउने र गोली प्रहार गर्ने ३, ४ जना तस्करहरु थिए ।
प्रहरीले राति नै जंगलमा लुकेको अवस्थामा मनहरी गाउँपालिका ७ का १६ वर्षींय दीपेन्द्र राई, राक्सिराङ(८ का २९ वर्षीय सुरेश स्याङ्तान, मनहरी(६ का ३६ वर्षीय गोपाल ब्लोन र मनहरी(६ का १८ वर्षींय कृष्ण तामाङ पक्राउ गरेको इप्रका मनहरी प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताए ।
धादिङ र मकवानपुरमा उत्पादित गाँजा, तस्करहरुले मनहरीको विभिन्न नाका भएर भरियामार्फत भारततर्फ लैजाने गर्छन् । प्रहरीले सवारी साधनको चेकजाँच कडा गरेर गाँजा र चरेस बरामद गरेपछि भरियामार्फत रातारात गाँजा बोकाएर भारततर्फ लैजाने प्रयत्न तस्करहरुले गरिरहेका छन् ।
चैत १५ गते ।