मेरो भ्रमण सफल भयो, संविधान कार्यान्वयनमा चीनको सदभाव छ : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन नरोकिने बताउनुभएको छ । चीनको साताव्यापी भ्रमणबाट आज स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसामु भन्नुभयो ुअब निर्वाचन रोकिँदैन । मुलुक निर्वाचनमा गइसकेको छ । उहाँले आगामी वैशाख ३१ गते हुने निर्वाचनको वातावरण बनाउन मधेस केन्द्रित दलहरुसँग नमिलेका अहिले र बाँकी विषयहरु केन्द्रीय निर्वाचन अघिसम्ममा सम्बोधन गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले कतिपय विषयहरुमा प्रमुख प्रतिपक्षी एमाले, मधेसी दलहरु र सत्ता साझेदार दलहरुसँग आजैदेखि छलफल गरिने प्रस्ट पार्नुभयो ।

प्रचण्डले नेपालले गतवर्ष जारी गरेको नयाँ संविधान कार्यान्वनयमा चीनको सद्भाव रहेको बताउँदै भन्नुभयो, संविधान कार्यान्वनयमा चीनको सदभाव छ ।

आफ्नो भ्रमण पूर्ण सफल रहेको प्रधानमन्त्रीको दाबी छ ।हाम्रो विकास हामीले नै गर्ने हो उहाँले भन्नुभयो, मेरो सद्भावना भ्रमण थियो, सद्भाव वृद्धि गर्ने काम भएको छ ।

प्रधानमन्त्री दाहाल चीनको हैनान प्रान्तमा सम्पन्न बोआओ सम्मेलनमा भाग लिन गत बिहीबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
चैत १६ गते ।