फोरमले चैत २१ गते काठमाडौँमा विरोध प्रदर्शन तथा जनसभा गर्ने

काठमाडौँ । वर्तमान आन्दोलनको तयारीको सन्दर्भमा नेवाः, ताम्सालिङ र शेर्पा प्रदेशका अगुवा कार्यकर्ताहरूको राजधानीमा भएको एक कार्यक्रममा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टीले अगाडी सारेको नेपाली समाज परिवर्तनको सिद्धान्त सङ्घीय समाजवादले उत्पीडित राष्ट्रियताहरूको पहिचानको आन्दोलन र देशको विकास तथा समृद्धिको कार्यक्रमलाई एकाकार गरेको बताए ।
उनले आफूलाई समाजवादीको केन्द्र ठान्ने नेपाली काङ्ग्रेस र साम्यवादीहरूको केन्द्र ठान्ने माओवादी र एमालेले देशमा समाजवाद र साम्यवाद नभई विकृत पुँजीवादलाई नै मल जल गरेको बताए । ती दलहरूले लिएका नीतिहरू पश्चिमका एकल राष्ट्रिय राज्यहरूको जस्तो भएकाले हाम्रो जस्तो बहुराष्ट्रिय देशमा फिट हुन नसकेको भन्दै देश चलाउने पार्टीहरू र राज्यसत्ता दुबै समाजकै प्रतिविम्ब हुनु पर्ने बताए । उनले निकट भविष्यमा सङ्घवाद र समाजवादलाई स्विकार्ने दलहरू ससफो, नेपालमा एकीकृत हुँदै जाने ठोकुवा गर्दै सङ्घीय समाजवादी फोरम सच्चा सङ्घवादीहरूको बैचारिक मात्र होइन आन्दोलनको पनि केन्द्र बनेको बताए ।
उनले वर्तमान आन्दोलनको तयारीको सन्दर्भमा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने “अहिलेको समय विगतका कमजोरीहरूको पश्चाताप गर्ने होइन आन्दोलनको आँधी ल्याउने समय हो । चैत्र २१ गते काठमाडौँमा हुने विरोध प्रदर्शन तथा जनसभालाई भब्य रुपमा सफल पारौँ ।” उनले सङ्घीय व्यवस्थामा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रहरू स्वशासनको विशेष संरचनाहरू भएकाले यसलाई स्थानीय निर्वाचनभन्दा अगाडी नै संस्थागत रूप दिनु पर्ने तथा यसका अधिकार क्षेत्रहरू पनि भारतको संविधानको पाँचौँ र छैठौँ अनुसूची जस्तै नेपालको संविधानमा पनि अनुसूची राख्नु पर्ने बताए । त्यसरी नै स्थानीय तह प्रदेशको क्षेत्राधिकारभित्र हुने संवैधानिक व्यवस्था हुनु पर्ने कुरा पनि उनले भने । यस्तो भएमा प्रदेशहरू आफैले जनताको घरदैलो नजिक सत्ता र सेवा पु¥याउन सक्ने गरी स्थानीय तह बन्ने बताए । उनले सङ्घीयतामा जनताको निकट सत्ता हुनु पर्नेमा गाउँपालिका केन्द्र पुग्न हिमाली जिल्लामा २० दिन सम्म लाग्ने गरी ठूलो ठूलो गाउँपालिका बनाएको र तराइमा जनसङ्ख्याको अनुपातमा धेरै कम मात्र स्थानीय तह बनाएकोमा आपत्ति प्रकट गर्दे भने “यो सङ्घीयतालाई असफल पार्न चाहने प्रतिगामीहरूको खेल हो ।”
उक्त कार्यक्रममा पार्टीका पोलिट ब्यूरो सदस्य द्वय सुशिला श्रेष्ठ, धिरेन्द्र वहादुर श्रेष्ठ केन्द्रीय सल्लाहकार समितिका प्रमुख डा। महेश मान श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू लाल वहादुर तामाङ, न्हुच्छेलाल महर्जन, विद्ध्युत वज्राचार्य, डा। पुस्पराज राजकर्णिकार, आङकाजि शेर्पा, नहेन्द्र प्रधान, उत्तम लामा, डा। छाया शर्मा पन्त, शाक्य सुरेन, पवित्र वज्राचार्य, मञ्जु अन्सारी, लक्ष्मण गुभाजु, सुशिला शाक्य, सिंहवहादुर तामाङ, मिन परियार आदि उपस्थित थिए ।
चैत १७ गते ।