आइवार्ड वुमेन फिल्म फेस्टिबल सम्पन्न

 

काठमाडौँ, २८ चैत । ‘मूलधारमा महिला चलचित्र निर्माता’ भन्ने नारासहित नेपालमा भएको पहिलो महिला चलचित्र महोत्सव ‘आइवार्ड बुमेन फिन्म फेस्टिबल’ आज सम्पन्न भएको छ ।

रेडियो तथा टेलिभिजनमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय संस्था (आइवार्ड)को नेपाल शाखाले काठमाडौँमा एकदिने महोत्सव आयोजना गरेको हो । महोत्सवमा नेपाललगायत चीन, भारत, क्यामरुन, फिलिपिन्स, मलेसिया, जापान, बङ्गलादेश र अमेरिका महिला निर्माताले निर्माण गरेका १० चलचित्र प्रदर्शन गरिएको थियो ।

महोत्सवमा कला सङ्ग्रौैलाद्वारा निर्देशित ‘बुट्टे जामा’ र रजिला श्रेष्ठको ‘रेडियो मेलम्ची १०७.२’ (नेपाल), त्रिवेणी रायको ‘मेमोरी अफ हर्ट’, हन्स थपलियाको ‘घर स्टुडियो है’, अन्ननेया करवल्लीको ‘हरिकथा प्रसङ्ग’, नैना सबनानीको ‘वी मेक इमेजेज’, अनिथा बालचन्द्रनको ‘पुडाभाइ’ (भारत) ‘मकी सटकी’ (जापान), युझीआवको ‘वाकिङ’ (चीन) लगायत चलचित्र प्रदर्शन गरिएको थियो ।

चलचित्र महोत्सवका कार्यक्रम निर्देशक मल्लिका भट्टराईले महिला निर्माता÷निर्देशकलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको बताउनुभयो । अन्तर्राष्ट्रियस्तरका महिला निर्देशकसमेत महोत्सवमा आएकाले नेपाली महिलाले निर्देशन तथा निर्माण गरेका चलचित्रको अन्तर्राष्ट्रिीयकरण हुने उहाँको विश्वास छ ।

सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले महिला धेरै साहसिक भइसकेका अवस्थामा चलचित्रमा पनि महिलालाई परम्परागत भूमिकामा सीमित नराखी साहसिक भूमिका दिनुपर्ने सुझाव दिनुभयो ।

सन् १९४९ मा स्थापित आइवार्डका ५० देशमा सदस्य छन् । नेपालमा यसले महिला पत्रकारको व्यक्तित्व विकास तथा सशक्तीकरण गर्ने काम गर्दै आएको आइवार्ड नेपालका अध्यक्ष अनुपा श्रेष्ठले बताउनुभयो । रासस