एमालेभित्र विभाजन ल्याउन खोज्नेहरु नै समाप्त भएर जान्छन्—
डा.राजन भट्टराई नेता, नेकपा (एमाले)

मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी लिनु भएको छ ?
राजनीतिक एक हिसावले हेर्ने हो भने सकारात्मक दिशातर्फ अघि बढिरहेको देखिएको छ । देशव्यापि रुपमा निर्वाचनको माहोल बनेको छ । अहिले गाउँ तहदेखि नगर, जिल्ला र केन्द्रसम्म नै निर्वाचनको माहोल बनेको देख्दा अब देशमा निर्वाचन हुन्छ । संविधान कार्यान्वय हुन्छ भन्ने संकेत देखा परेको छ । अहिले देशव्यापि रुपमा जनताको उत्साह हेर्दा र नेपाली जनताले निर्वाचनको व्यग्र प्रतिक्षा गरेको देख्दा देश अब देश निर्वाचनमय भयो भनेर सहज अनुमान गर्न सकिन्छ । देशमा निर्वाचनको वातावरण बन्यो र संविधान कार्यान्वयनको चरणमा हामीले प्रवेश गर्न सफल भयौँ भन्ने संकेत पनि यसले गरेको छ । यद्यपि अहिले पनि केही शक्ति निर्वाचन नै हुन नदिने र विभिन्न बाहनामा निर्वाचन सकेसम्म विथोल्ने प्रयासमा लागेका कारण अझै पनि कतै निर्वाचन नहुने हो कि भन्ने झिनो आशंका पनि देखिएको छ । तर, अब ती आशंकालाई पनि चिर्दै निर्वाचनमा जानुको अर्को विकल्प छैन । निर्वाचनको पक्षमा देखिएको जनमत र जनलहरलाई ख्याल गरेर सबै राजनीतिक दल अहिले निर्वाचनको महोलमा जुटेको मैले महशुस गरेको छु । जनताका अधिकारलाई निर्वाचनमार्फत पूरा गरेर अघि बढ्नु अहिले सबै राजनीतिक दलको दायित्व पनि बनेको छ ।
तपाईँ व्यवस्थापिका संसद्को सदस्य पनि हुनुहुन्छ । ०७४ माघ भित्रमा सबै तहका निर्वाचन पूरा गरेर संविधान कार्यान्वयन गर्ने सम्भावना कत्तिको देख्नुभएको छ ?
हामीले निकै ठूलो संघर्ष पछि यो संविधान पाएका हौँ । यो संविधान जारी गर्ने बेलासम्म धेरैको बलिदानी खर्च भएको छ । त्यसैले हामीले ०७४ सम्ममा धाँदलीरहित तरिकाबाट तीनवटै तहका निर्वाचन पूरा गरी संविधान कार्यान्वयन गर्नुको अर्को विकल्प छैन । राजनीतिक कोर्स पूरा भएको छ अब हाम्रो काँधमा आर्थिक सम्वृद्धि र सामाजिक रुपान्तरणको आन्दोलनमा सरिक हुनुपर्ने जिम्मेवारी आएको छ । यो पूरा गर्नका लागि पनि संविधान कार्यान्वयन गर्नुको अर्को विकल्प छैन । अहिलेको प्रमुख कार्यभार भनेको पनि यही हो ।
तपाईँले तीन तहका निर्वाचन पूरा गरेपछि मात्र संविधान कार्यान्वयन हुने कुरा गर्नुभयो । तर, अहिले पहिलो चरणमा गर्ने स्थानीय निर्वाचन नै होला कि नहोला भन्ने आशंका छ । मधेसमा अहिले पनि निर्वाचन नहुने हो कि भन्ने चर्चा चलिरहेको छ । यसलाई चाहिँ के भन्नुहुन्छ ?
७ सय ४४ वटै स्थानीय निकायमा एकै चरणमा अर्थात वैशाख ३१ गते निर्वाचन हुन्छ । सबैतिर निर्वाचनको माहोल भनेको छ । त्यसैले निर्वाचन नहोला कि भन्ने आशंका गर्नुपर्ने केही कारण देखिदैँन । अहिले सबै राजनीतिक दल र सरकार पनि निर्वाचनका पक्षमा माहोल सिर्जन गरिरहेको छ । त्यसैले हामीले आत्तिनु पर्ने कुनै कारण छैन । केही राजनीतिक दलहरुले त्यसमा पनि मुख्य गरेर मधेसी दल हुँ भन्नेहरुले जनतामा केही भ्रम सिर्जना गरेका छन् । तर, जनता अहिले पनि निर्वाचनका पक्षमा छन् । निर्वाचन कहिले हुन्छ भनेर प्रतिक्षामा बसेको छन् । त्यसैले निर्वाचन हुने कुरा कसैले रोकेर रोकिनेवाला छैन ।
अहिले प्रदेश नम्बर दुईमा पनि निर्वाचनको माहोल व्यापक बनेको छ । त्यहाँका स्थानीय राजनीतिक दलहरु पनि भित्रभित्र निर्वाचनको माहोल बनाउँदै हिडेका छन् । उनीहरुले बाहिर जे–जस्ता तर्क गरे पनि भित्र–भित्र निर्वाचनको माहोल सिर्जना गरेकाले पनि निर्वाचन रोकिने हो कि भन्नेमा कुनै आशंका नपाल्दा हुन्छ । अहिले प्रदेश नम्बर दुईमा समेत विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेको लहर नै चलेको छ । यसले पनि आगामी निर्वाचनमा त्यो प्रदेशवाट एमाले बहुमतसहित विजयी हुने सम्भावना बलियो बन्दै गएको छ ।
एमालेले केही हप्ता अघि मात्र मेची–महाकाली राष्ट्रिय अभियान सम्पन्न गर्यो । अभियानका क्रममा तराई–मधेसमा व्यापक माहोल सिर्जना भएको भन्ने एमालेको ठहर छ । तपाईँका पार्टीका अध्यक्षले पनि आगमी निर्वाचनमा एमाले कम्तीमा पनि बहुमतसहितको पार्टी बन्छ भन्दै आउनु भएको छ । तपाईँको भनाइ यस्तै हो ?
नेकपा (एमाले)को सही नीति, विचार र अडानका कारण एमालेका पक्षमा जुन प्रकारको लहर देखिएको छ । त्यो जनलहरले पनि एमालेका पक्षमा जनमत छ भन्ने प्रमाणित गरेको छ । एमाले जनतामा विश्वास गर्ने पार्टी हो । त्यसैले यो लहरलाई हेर्दा एमाले बहुमतसहित पहिलो पार्टी बन्ने कुरालाई कसैले रोक्न सक्छ जस्तो हामीलाई लाग्दैन । हामी यो जनलरहरलाई निर्वाचनका माध्ययमबाट प्रमाणित गर्न चाहन्छौँ । देशका निम्ति आइपरेका अविभारालाई एमाले पूरा गर्न चाहन्छ । त्यसका लागि पनि एमालेलाइ बहुमतसहितको पहिलो पार्टी बन्न जरुरी छ ,। यो कुरा नेपाली जनताले पनि बुझेका छन् भन्ने मैले ठानेको छु ।
तर, तपाईँले यसो भन्दै गर्दा अहिले एमाले भित्रै एक खालको मनमुटाव सुरु भयो । निर्वाचनको मुखमा आएर देखिएको यस्तो मनमुटावले एमाले कमजोर बन्ने हो कि भन्ने आशंका पनि पैदा भएका छन् । यसलाई चाहिँ कसरी लिनुभएको छ ?
एमाले भित्र निकै लामो संघर्ष गर्नुभएका, लामो अनुभव बटुल्नु भएका र कार्यकर्ताको भावना सबै भन्दा बढी बुझ्न सक्ने क्षमता भएका नेताहरु हुनुहुन्छ । उहाँहरुको अनुभव, संघर्ष र योगदानकै कारण एमाले अहिले यो ठाउँसम्म आएको हो । एमालेको विचार नीति र अडानको अहिले सारा नेपालीले जसरी प्रशंसाा गरेका छन् । त्यो उहाँहरुकै कारण भएको हो । त्यसैले उहाँहरुले कार्यकर्ताको मन भाँचिने काम गर्नुहुन्छ भन्ने मैले ठानेको छैन ।
आम कार्यकर्ताका माझमा सम्मानित छवि बनाउनु भएका नेताहरु जसले अहिले एमालेको पक्षमा उर्लिएको जनलरहलाई राम्ररी आँकलन गर्नुभएको छ । त्यसैले कहिँकतै केही अन्जानवस पार्टी कार्यकर्तालाई दुःखी बनाउने काम गर्नुभएको छ भने पनि अब उहाँरुले तत्कालै कार्यकर्ताको मर्म र भावनालाई बुझेर समाधानको बाटो खोज्नुहुन्छ भन्नेमा म पूर्ण आशावादी छु ।
राष्ट्रियताका पक्षमा अहिले बलियो अडान लिएकै कारण एमाले सबै नेपालीको आशाको केन्द्र बनेको छ । निर्वाचनका मुखमा हामी छौँ । आम नेपाली जनताले कहिले निर्वाचन हुन्छ र एमालेलाई बहुमतसहितको पार्टी बनाउँने भनेर प्रतिक्षा गर्नुभएको छ । त्यसैले हाम्रा शीर्ष तहका नेताहरुले पनि यो कुरालाई शीरमा राखेर अघि बढ्नु हुनेछ ।
भनेपछि अहिले पनि एमाले एकतावद्ध छ ?
एमाले अहिले होइन हिजो पनि एकतावद्ध थियो । अहिले केही शक्ति एमाले भित्र विभाजन ल्याउन पाए एमालेको पक्षमा आएको जनलहरलाई भत्काउन सकिन्थ्यो कि भनेर लागेका छन् तर त्यो उनीहरुको सपना एमालेले पूरा हुन दिदैँन । हाम्रा जिम्मेवार नेताहरुले पनि त्यो पूरा हुन दिनेवाला छैनन ।
अहिले निर्वाचन नजिक आएको छ । मतदातालाई के भन्नुहुन्छ ?
एमालेको नीति, विचार र सिद्धान्त सुस्पष्ट छ । देशलाई सम्वृद्धिको दिशामा लैजाने सपना एमालेसँग मात्र छ । राष्ट्रियताका सन्दर्भमा सबै भन्दा बलियो अडान लिने पार्टी एमाले मात्रै हो । सामाजिक सुधारका सन्दर्भमा एमालेले लिएको अडान सबै भन्दा उपयुक्त छ । संविधान जारी गर्ने सन्दर्भमा नेतृत्वदायी भूमिका एमालेले खेलेको हो । संविधान कार्यान्वयनका सन्दर्भमा पनि एमालेको पहल कदमी सबै भन्दा नेतृत्वदायी छ । देशलाई असफलताबाट सफलतातर्फ लैजानका लागि पनि एमालेलाई नै विजयी गराउनुको अर्को विकल्प छैन । त्यसैले अब सबै नेपाली जनताले भ्रममा नपरी एमालेलाई बहुमतसहितको पहिलो पार्टी बनाउनुपर्छ ।
चैत २९ गते ।