ओलीको शुभकामना सन्देश : निर्वाचनमा सहभागी भएर गुनासा सम्बोधन गर्न मोर्चालाई आह्वान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानप्रति असन्तुष्टी जनाएर आन्दोलन गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग आबद्ध दलहरुलाई स्थानीय तहको निर्वाचनमा सहभागी भएर आफना गुनासा सम्बोधन गर्न आह्वान गर्नु भएको छ । मधेशी मोर्चा र ती दलसँग आबद्ध दलहरुको नामोच्चारण नगरीकन अध्यक्ष ओलीले लोकतान्त्रिक विधि र निर्वाचनकै माध्यमबाट समस्या समाधानमा सकारात्मक योगदान गर्न आह्वान गर्नु भएको हो ।
‘लोकतन्त्रले हामी सबैलाई आफ्ना गुनासा, असन्तुष्टि र मागहरुलाई वैधानिक परिधिभित्रैबाट समाधान गर्ने अवसर प्रदान गर्दछ । आवधिक निर्वाचनका माध्यमबाट आफ्ना मान्यताहरुको परीक्षण र जनअनुमोदन गराउने तथा त्यसका आधारमा संवैधानिक पद्धतिलाई थप परिष्कृत र विकसित गर्दै लैजाने आधार उपलब्ध गराउनु लोकतन्त्रको सबैभन्दा सबल पक्ष हो’ अध्यक्ष ओलीले नयाँ बर्षको शुभकामना सन्देशमा भन्नुभएको छ ‘म नयाँ बर्षको सुखद उपलक्ष्यमा वर्तमान संवैधानिक प्रक्रियाप्रति केही गुनासाहरु अभिव्यक्त गरिरहनु भएका साथीहरुलाई पनि लोकतान्त्रिक विधि र निर्वाचनकै माध्यमबाट ती समस्या समाधानमा सकारात्मक योगदान गर्न आह्वान गर्दछु ।’
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको महायात्रामा एकताबद्ध भएर अगाडि बढन पनि अध्यक्ष ओलीले आह्वान गर्नु भएको छ । ‘प्रकृति र संस्कृतिको वरदान प्राप्त हाम्रो सुन्दर मुुलुक लामो राजनीतिक अस्थिरता, द्वन्द्व र अव्यवस्थाका कारण निकै पछाडि परेको छ । यो स्थितिलाई अब बदल्नै पर्छ । बदलिँदो विश्व सन्दर्भले पनि हामीलाई सधैभरि यही अवस्थामा रहन अनुमति दिंदैन । त्यसैले राजनीतिक दल, सङ्घसंस्था एवं आम जनसमुदायमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको यस महायात्रामा एकतावद्ध भएर अगाडि बढ्न आह्वान गर्दछु’ ओलीद्वारा हस्ताक्षरित बक्तव्यमा भनिएको छ ‘आर्थिक समृद्धिका लागि सामाजिक सद्भाव र राष्ट्रिय एकता अनिवार्य पूर्वशर्त हो । त्यसैले नेपाली समाजको विविधता र बहुलतालाई मूल्यवान सम्पदाका रुपमा ग्रहण गर्दै यसलाई सुदृढ बनाउन तथा नेपालको स्वाधीनता र राष्ट्रिय स्वाभिमानलाई अझ माथि उठाउन नयाँ बर्षले हामीलाई प्रेरणा दिनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’
आगामी बैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनमा उत्साहका साथ सहभागी हुन र आफूले चुनेका प्रतिनिधिहरुका माध्यमबाट विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीब्रता दिन पनि ओलीले अनुरोध गर्नु भएको छ । ‘संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो र लोकतन्त्रलाई जनताको घर–आँगनमा पु¥याउने प्रभावशाली प्रक्रियाको रुपमा रहेको स्थानीय तह निर्वाचनले नेपाली जनतालाई स्वशासनको अनुभूति दिलाउने छ । यसै क्रममा संविधानले निर्दिष्ट गरेको समयसीमा भित्रै बाँकी निर्वाचनहरु पनि सम्पन्न भएर नयाँ बर्ष २०७४ नेपालको राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढीकरणको स्मरणीय बर्षका रुपमा अङ्कित हुने विश्वास मैले लिएको छु’ ओलीले भन्नु भएको छ ।
चैत ३१ गते ।