पूँजीगत खर्च बढाउन निर्देशन

काठमाडौं, ५ बैशाख । पुँजीगत खर्च कम भएको आलोचना भैरहेका वेला त्यसलाई वृद्धिगर्न सम्वद्ध मन्त्रालयकहरु अग्रसर हुन थालेका छन् । बजेट विनियोजन भएरपनि खर्च हुन नसकेपछि सरकारी खर्च प्रणालीमाथि नै आलोथना हुन थालेपछि सम्वद्ध मनत्रालयहरु तातिन थालेका हुन् ।
बजेटरी खर्च बढाउन उद्योग मन्त्री नवीन्द्रराज जोशीले मंगलवार निर्देशन नै दिए । उनले ८० प्रतिशत पूँजीगत खर्च गर्ने गरी काम अगाडी बढाउन उद्योग मन्त्रालय र मन्त्रालय अन्तरगतका कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । मन्त्रालय स्तरिय विकास समस्या समाधान समितिको बैठकलाई सम्वोधन गर्दै मन्त्री जोशीले अहिले जनमानसमा उद्योग मन्त्रालयबाट धेरै अपेक्षा रहेको भन्दै जनअपेक्षालाई पुरा गर्न मन्त्रालय र मन्त्रालय अन्तर्गतबाट प्रदान गरिने सेवालाई छिटो छरितो र पारदर्शी बनाउन निर्देशन दिए ।
अहिलेको समय आर्थिक क्रान्तिका लागि उपयुक्त समय भएको भन्दै मन्त्री जोशीले आर्थिक परिवर्तनको सम्वाहक उद्योग मन्त्रालय बन्न सक्ने धारणा समेत राखे । उद्योग मन्त्रालय सम्हालेको यो ७ महिनाको अवधिमा धेरै उपलब्धि प्राप्त भएको भन्दै मन्त्री जोशीले प्राप्त उपलब्धीलाई सन्तुष्टि होईन खुसी मानेर थप उपलब्धीका लागि कार्य गर्न सामुहिक प्रयासको खाँचो रहेको भन्दै उद्योग मन्त्रालयले लिएको लक्ष प्राप्तिमा सघाउन कर्मचारीहरुलाई आग्रह गरे ।
काम सँग लगाव राखेर अगाडी बढ्न कर्मचारीहरुलाई निर्देशन दिंदै मन्त्री जोशीले आफ्नो कमजोरीलाई समेत समिक्षा गरेर अगाडी बढ्न निर्देशन दिए । उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले उद्योग मन्त्रालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउन निर्देशन दिँदै वेरुजु फछ्यौटलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।
पूँजीगत खर्चमा जोड दिन निर्देशन दिँदै सचिव कोईरालाले खर्च हुन नसक्ने आयोजनाको विवरण कारण सहित तत्काल उपलब्ध गराउन निर्देशन दिए । सम्वन्धित मन्त्रालयको सक्रियता कम हुँदा पुँजीगत खर्च कम हुने गरेको छ । यसको अशर समग्र अर्थतन्त्रमा पर्दै आएको छ ।